समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै ठूलो आन्दोलन हुने बताएका छन्। १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टी नयाँ आन्दोलनको नेतृत्व गर्न तयार रहेको भन्दै मजदुरहरुलाई पनि आफ्नो क्षेत्रमा सशक्त रुपमा जुट्न आह्वान गरे।
प्रचण्डले कार्यकर्ताहरुलाई संकेत गर्दै भने, “मजदुर साथीहरू, तपाईंहरू राम्रो तयारीमा जानुस्, हामी छिट्टै हामी ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ,” यद्यपि, उनले कस्तो खालको क्रान्ति गर्ने समय आएको भन्ने चाहिँ व्याख्या गरेनन्।
उनले केही समयअघि सम्पन्न हुलाकी राजमार्ग अभियानको उल्लेख गर्दै त्यसले पार्टीभित्र उत्साह थपेको बताए। उक्त अभियानमार्फत एक करोड जनतासँग प्रत्यक्ष सम्पर्क स्थापित भएको दाबी गर्दै प्रचण्डले जनस्तरमा पार्टीको पहुँच विस्तार भएको उल्लेख गरे।