काठमाडौं – सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई निर्देशन दिएको छ ।
अदालतको आधिकारिक सह-रजिस्ट्रार अच्युत कुइँकेलको हस्ताक्षरमा पठाइएको पत्रमा चौधरीको पक्राउ ‘अनधिकृत आदेश’को आधारमा भएको उल्लेख गरिएको छ । सर्वोच्चले बुधबार डिल्लीबजार कारागार कार्यालयमा पठाएको पत्रमा चौधरीलाई पक्राउ गर्न लेखिएको अघिल्लो पत्र अदालतकै आधिकारिक नठहरिएको स्पष्ट पारेको हो ।
पत्रमा भनिएको छ, ;यस अदालतको मुद्दा तथा रिट महाशाखाबाट पठाइएको भनिएको पत्र आधिकारिक होइन । सो पत्र कार्यान्वयन नगर्नुहुन र यदि चौधरी सोही पत्रका आधारमा थुनामा पर्नुभएको छ भने तुरुन्तै कैद/थुनामुक्त गर्नू ।’
यसअघि सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले ‘न्यायको नाउँमा’ आदेश पठाएको भन्दै विवाद उत्पन्न भएको थियो । प्रहरी स्रोतका अनुसार विष्टले व्यक्तिगत आस्था र आत्मप्रेरणाका आधारमा चौधरीविरुद्ध पत्र काटेको बताएका थिए । उनी हाल प्रहरी नियन्त्रणमा छन् ।
जनमत पार्टीसँग पार्टी एकता घोषणाको पूर्वसन्ध्यामा चौधरीलाई प्रज्ञा भवन परिसरबाट सादा पोशाकका प्रहरीले पक्राउ गरेका थिए । उक्त पक्राउपछि राजनीतिक वृतमा व्यापक प्रतिक्रिया आएको थियो भने कानुनी वैधता माथि प्रश्न उठेको थियो ।