टोकियो – जापानमा घरपालुवा जनावरप्रतिको माया अब मृत्युपछिको यात्रासम्म फैलिएको छ । परम्परागत धार्मिक मान्यताहरूको सीमाभन्दा बाहिर गएर पनि जापानी नागरिकहरू आफ्ना प्रिय जनावरहरूसँगै चिहानमा विश्राम गर्न चाहन्छन् । यही भावनाले पछिल्लो समय देशभर घरपालुवा जनावरका लागि अन्त्येष्टि सेवा तीव्र रूपमा फैलिएको छ ।
टोकियोस्थित मेमोरियल आर्ट ओहनोया कम्पनीले सन् २००३ देखि ‘विथ पेट ग्रेव’ अर्थात् मालिक र जनावरको साझा चिहान सेवा सुरु गरेको हो । कम्पनीका अनुसार हालसम्म करिब १,५०० भन्दा बढी पटक यस्ता सेवाको अनुबन्धन भइसकेको छ । ओहनोयाले जापानभर सात स्थानमा यस्तो विशेष समाधिस्थलको सुविधा विस्तार गरेको छ, जहाँ जनावरको मृत्यु मानिसभन्दा पहिला भए पनि एकै समाधिस्थलमा अन्त्येष्टि गर्न सकिन्छ ।
ओहनोयाका प्रतिनिधि यासुनारी हाकोजाकी भन्छन्, ‘हामी त्यस्ता सेवाको मागमा प्रतिक्रिया जनाउँछौं, जहाँ मानिसहरू आफ्ना अमूल्य साथीसँगै सधैँको निद्रामा जान चाहन्छन् । केही चिहानस्थलमा त जनावरका लागि खुट्टा धुन मिल्ने पानीको भाँडासमेत राखिएको छ ।’
यस्तै, ह्योगो प्रान्तका कोबे र अकाशी सहरमा क्रियाशील टमबस्टोन निर्माता ‘फुगा’ कम्पनीले पनि मालिक र जनावरका लागि संयुक्त समाधिस्थल तयार गर्दै आएको छ । कम्पनीले ग्राहकको चाहनाअनुसार टमबस्टोनको डिजाइन बनाउने सुविधा दिएको छ । एउटा चर्चित उदाहरणमा, दुई बिरालोको चित्र गोलाकार टमबस्टोनको केन्द्रमा सिरेमिक बोर्डमा उतारिएको छ- यस्तो सामाग्री वर्षा, घाम वा हावाबाट सजिलै क्षय नहुने बनाइन्छ ।
सिर्फ कुकुर वा बिरालो मात्र होइन, जापानमा अब कीरा, भमरा र अन्य साना जनावरहरूको पनि सम्मानपूर्वक अन्त्येष्टि हुने गरेको छ। ‘आई पेट सेरेमनी अमागासाकी’ नामक संस्था, ह्योगोमाले जनावरहरूलाई आफैं ल्याएर वा हुलाकमार्फत पठाएर पनि अन्त्येष्टि सेवा लिने व्यवस्था गरेको छ। संस्थाले मासिक स्मृति कार्यक्रमसमेत सञ्चालन गर्छ, जसले बालबालिकामा जीवन र मृत्युबारे संवेदनशीलता र चेतना विकासमा टेवा पुर्याउने विश्वास राखिएको छ ।
जीवनको अन्त्यपछि पनि सँगै रहने चाहनाले जापानी समाजमा पशुप्रेमको गहिराइ देखाएको छ । घरपालुवा जनावरसँगको आत्मीय सम्बन्ध अब केवल जीवित रहँदाको साथमै सीमित नरही, चिहानसम्मै विस्तार हुँदै गएको छ- यिनै सम्बन्धहरूले जापानको सामाजिक र संस्कृतिक समवेदनशीलतालाई नयाँ दिशा दिइरहेको छ ।