काठमाडौं – आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौंमा केन्द्रित आफ्नो आन्दोलनलाई अझ तीव्र बनाउने घोषणा गरेका छन् । आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको दमनको कडा विरोध गर्दै प्रतिकारमा उत्रने चेतावनी दिएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै शिक्षक र कर्मचारीमाथि गरिएको ‘क्रूर दमन’को विरोधमा सबै पेसागत संस्था, शिक्षा सरोकारवाला समूह र आम नेपाली जनतालाई एकजुट हुन अपिल गरेका छन् । ‘अग्रगामी विद्यालय शिक्षा ऐन बिना हामी कार्यक्षेत्रमा फर्किँदैनौं,’ सुवेदीले भने, ‘देशभरका शिक्षक-कर्मचारी साथीहरू, अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौं आइ आन्दोलनमा सहभागी होऔं ।’
महासंघले आइतबारको आन्दोलनमा सरकारद्वारा संरक्षित ‘भिजिलान्ते’हरूद्वारा स्थिति बिगारिएको र त्यसकै बहानामा प्रहरीबाट पानीको फोहरा, ढुङ्गामुढा र निर्मम लाठी प्रहार गरिएको आरोप लगाएको छ । बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक-कर्मचारी र केही सञ्चारकर्मी घाइते भएका छन्, जसमध्ये करिब एक दर्जनको अवस्था गम्भीर छ ।
सुवेदीले सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारलाई उपचार खर्चको जिम्मेवारी लिन कडा माग गरेका छन् । उनले सरकारले प्रदर्शनकारीमाथि गरेको ‘ज्यादती’को घोर निन्दा र भर्त्सना समेत गरेका छन् ।
नेपाल शिक्षक महासंघले माघ २० गतेदेखि विद्यालय शिक्षाको सुधार र शिक्षक-कर्मचारीका पेसागत अधिकारको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको बताउँदै आइतबारको घटना सरकारले देखाएको अलोकतान्त्रिक र शिक्षा विरोधी चरित्रको स्पष्ट प्रमाण भएको टिप्पणी गरेको छ ।