टाेकियाे –जापानको ओसाकामा ‘प्रथम नेपाल फेस्टिवल’ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ कान्साइकाे आयोजनामा यहि अप्रिल २६ र २७ गरी दुइदिनसम्म सञ्चालन भएकाे फेस्टिवल आइतबार सम्पन्न भएकाे हाे ।
‘जापानमा नेपाल र नेपालीको पहिचान, नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल मान्यताका साथ, नेपाली राजदूतावासको सहकार्यमा गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिति (कान्साई) को आयोजना तथा कान्साईमा सक्रिय संघसंस्थाको सहआयोजनामा नेपालको कला, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रवासमा निरन्तरता दिने उद्देश्यले उक्त फेस्टिवलको आयोजना गरिएको थियाे ।
उक्त फेष्टिवलमा नेपालको पहिचान झल्कने परिकार तथा नेपालका विभिन्न जातजातिका झाँकी तथा सांस्कृतिक समुहको प्रस्तुति रहेको थियाे । फेस्टिवलकाे उद्घाटन समाराेहमा बाेल्दै प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, जातजाति हाम्रो पहिचान भएको र विविधता विचको एकता हामी नेपालीहरुको विशेषता रहेको उल्लेख गर्दै सबै नेपालीहरू एक आपसमा मिलेर बस्नुपर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा ओसाका प्रिफेक्चरका प्रतिनिधि इचीसाकी हिरोफुमी, ओसाका नगरका प्रतिनिधि मिहोको आराई, ओसाका मियाकोजी वार्डका प्रतिनिधि केइको फुजियोका, ओसाकाका महावाणिज्यदूत कुनियो इमानिशी, फुकुओकास्थित नेपालको मानार्थ वाणिज्य दूतावास कन्सुलर युइचिरो किमोताे, नानकाई इलेक्ट्रिक रेलवे कम्पनी लिमिटेडका प्रतिनिधी युकिको यामामोतो, एनआरएनए अन्तरार्ष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष देवमान हिराचन, एनआरएनए अन्तरार्ष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोबिन शेरचन, गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष नबिन निउरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
एनआरएन कान्साईका संयाेजक हरिप्रसाद कँडेलकाे अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मन्तव्य नेपाल फेस्टिवल आयोजक समिति संयोजकका कृष्ण शर्मा गैरे तथा कार्यक्रमको बारेमा व्यवस्थापन समितिका संयोजक नरेन्द्र बस्नेत दिनेशले प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा नेपालबाट आमन्त्रित लाेकप्रिय गायक मिलन लामा र उग्रेन दोङका साथै अनन्त नेपाल र अनुभव व्याण्डकाे सांगीतिक प्रस्तुति रहेकाे थियाे भने उनीहरूलाई जापानमै रहेका कलाकारहरुले साथ दिएका थिए । उक्त फेष्टिवलमा उल्लेख्य नेपाली तथा जापानी नागरिकहरुको सहभागिता रहेको थियो ।