समाचार सुन्नुहोस :
काठमाडौँ – इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह शहीद रजाईमा शनिबार भएको ठूलो विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र ८०० जना घाइते भएका छन्। विस्फोटपछि आइतबारसम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन। बन्दरगाहको भन्सार कार्यालयका अनुसार आगो सम्भवतः खतरनाक रासायनिक सामग्रीको डिपोबाट फैलिएको हो। न्यूयोर्क टाइम्सले इरानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै विस्फोट मिसाइल इन्धनका लागि प्रयोग हुने सोडियम पर्क्लोरेटका कारण भएको बताएको छ।
विस्फोटको प्रभाव ५० किलोमिटर टाढासम्म महसुस गरिएको थियो। उद्धारकर्ताहरूले भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। घटनास्थलमा बाक्लो कालो धुवाँ अझै देखिएको छ। चिनियाँ सञ्चारमाध्यमले तीन चिनियाँ नागरिक सामान्य घाइते भएको जनाएको छ। स्थानीय आपत्कालीन सेवाहरूले सयौं घाइतेहरूलाई अस्पतालमा भर्ना गराएको र रक्तदानको आह्वान गरेको सरकारी टेलिभिजनले जनाएको छ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् भने गृहमन्त्री इस्कन्दर मोमेनीले अन्य सहर र तेहरानबाट उद्धार स्रोतहरू पठाइएको जानकारी दिएका छन्।