सिन्धुपाल्चोक – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको विफलता औंल्याउँदै सरकार परिवर्तनको संकेत गरेका छन् । सिन्धुपाल्चोकको चौतारामा आयोजित वाईसीएल नेपालको पाँचौं जिल्ला सम्मेलनलाई बिहीबार बेलुका सम्बोधन गर्दै पुनले यस्तो संकेत गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार ‘बिचौलियाहरूको उत्पादन’ भएको उनले आरोप लगाए । ‘राष्ट्र बैंक कब्जाको लागि अर्बौंको डिल भइरहेको छ, यही कारण आजसम्म गभर्नर नियुक्त भएको छैन,’ उपमहासचिव पुनले भने, ‘सरकार बिचौलियाहरूको नियन्त्रणमा पुगेको पुष्टि भइसकेको छ ।’
पुनले थपे, ‘हामीले २०८४ सालसम्म सरकारमा नजाने निर्णय गरेका थियौं । तर यदि ओली सरकारबाट व्यवस्था जोगिँदैन भने हामी सरकारमा जान पनि बाध्य हुन सक्छौं । त्यसबेला ८४ को पर्खाइ गर्नु मूर्खता हुनेछ । सरकारमा गए पनि हाम्रो काम जनताको पक्षमा हुनेछ- जनपक्षीय माओवादी धार निर्माण गर्दै आगामी निर्वाचनको तयारीमा जुटिनेछौं ।’
उनको भनाइमा संविधान कार्यान्वयन, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, र अन्तर्राष्ट्रिय सम्बन्धका हरेक मोर्चामा सरकार चुकेको छ । पुनले प्रतिगमनकारी शक्तिहरू सतहमा आउनु ओली सरकारकै असफलताको परिणाम भएको जिकिर गरे । साथै, ओली प्रवृत्तिको अन्त्य नभएसम्म कम्युनिस्ट ध्रुवीकरण सम्भव नरहेको धारणा व्यक्त गर्दै, एमालेभित्र रहेका ‘राम्रा’ नेताहरूसँग सहकार्य गर्न सकिने संकेतसमेत गरे ।
उनले प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलनले सामन्तवाद विरुद्धको वैचारिक विजय प्राप्त गरिसकेको र देश समाजवादको दिशातर्फ अघि बढिरहेको उल्लेख गरे । ‘२०८४ को चुनावमा हामी एक्लै प्रतिस्पर्धा गर्छौं र जित्छौं,’ पुनले भने, ‘कांग्रेस र एमालेसँगको गठबन्धनले अघिल्लो पटक हामी कमजोर भयौं । अब त्यो गल्ती दोहोरिंदैन । कार्यनीतिक सहकार्य हुन सक्छ, तर रणनीतिक रूपमा हामी फरक धारमा उभिन्छौं ।’