समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहप्रति अप्रत्यक्ष कटाक्ष गरेकी छिन्। एमालेद्वारा आयोजित ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै उनले लोकप्रियता कमाउने नाममा गरिएको देखावटी कार्यले देश निर्माण सम्भव नहुने धारणा व्यक्त गरिन्।
उनले मेयर शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा पपुलिस्ट गतिविधि गरेर वा अरूलाई गाली गरेर राष्ट्र बन्ने होइन, बरु इमान्दार काम नै देश विकासको वास्तविक आधार भएको स्पष्ट पारिन्। “हामी स्टन्ट गर्ने होइन, जिम्मेवार भएर काम गर्ने युवा हौं,” भन्दै उनले युवाहरूलाई व्यवहारमा प्रतिबद्ध हुन आह्वान गरिन्।
डंगोलले पछिल्लो समय आफू सामाजिक सञ्जालमा आलोचनाको शिकार हुनुको कारण पनि खुलाएकी छिन्। अन्तर्राष्ट्रिय स्तरमा काठमाडौंको सफल कामको अनुभव साट्न गरिएको भ्रमण र प्रस्तुतिका कारण केही तत्वहरू आफूविरुद्ध सक्रिय भएको उनको आरोप छ। ती व्यक्तिहरू राष्ट्रविरोधी सोच बोकेको बताउँदै उनले ती प्रवृत्तिहरू अझै पनि सक्रिय रहेको बताइन्।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिँदै राष्ट्रप्रेम र विकासको बाटोमा लाग्दा आलोचना खेप्नुपर्ने बाध्यता उल्लेख गरिन्। राष्ट्र निर्माणमा गम्भीर र सकारात्मक सोच आवश्यक रहेको उनको भनाइ थियो।