काठमाडौं – थाइल्यान्ड उपचारका लागि प्रस्थान गर्नुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेको तथ्य बाहिर आएको छ । वैशाख ७ गते बैंकक गएका देउवाले माओवादी नेतासँगको संवादलाई लिएर राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको हो ।
देउवा-प्रचण्ड संवादबारे जानकारी माओवादी संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकमा प्रचण्डले स्वयं खुलासा गरेका हुन् । उनका अनुसार, देउवाले थाइल्यान्ड जानुअघि फोन गरी शुभकामना साटासाट गरेका थिए । ‘उहाँ फर्किएपछि भेट्ने कुरा पनि भएको छ,’ प्रचण्डले बैठकमा भनेको बताइन्छ ।
बैठकमा सहभागी एक माओवादी सांसदका अनुसार, देउवाको फोन संवादसँगै प्रचण्डले वर्तमान सत्ता समीकरणको अवस्थाबारे सांसदहरूलाई विस्तृत जानकारी दिएका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अब धेरै समय टिक्न नसक्ने आँकलन प्रस्तुत गरेका थिए ।
प्रचण्डले देउवा फर्किएपछि नयाँ सत्ता समीकरणको विषयमा गम्भीर छलफल हुने संकेत दिएका छन् । उनले देउवालाई ‘वेइटिङ प्रधानमन्त्री’ को संज्ञा दिँदै, ‘उहाँ बाहिर हुनुहुन्छ, फर्किएपछि छलफल हुनेछ,’ भन्दै सम्भावित राजनीतिक फेरबदलको संकेत गरेका थिए ।