समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्रले राज्यविरुद्धको कसुर र संगठित अपराधमा आफू निर्दोष रहेको दाबी गरेका छन्। तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्रलाई बुधबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो।
अदालतमा भएको बहसका क्रममा मिश्रले उक्त घटनासँग आफू कुनै पनि प्रकारले संलग्न नरहेको दाबी गरे। उनले अदालतसमक्ष भने, “यो देशमा ईश्वरको नाममा र जनताको नाममा कसम खानेहरूले धेरै फट्याइँ गरे, त्यो मेरो भावनात्मक भनाइ होइन, तथ्यमा आधारित प्रमाणित कुरा हो।” साथै, उनले गम्भीर बिरामी रहेकी ८२ वर्षीया आमाको नाममा कसम खाँदै राज्यविरुद्धको कुनै पनि गतिविधिमा संलग्न नरहेको अडान दोहोर्याए।
तीनकुने घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा मिश्रलाई प्रहरीले केही दिनअघि पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखेको छ। बुधबारै मिश्रको म्याद थप गर्ने वा उनलाई रिहा गर्ने भन्नेबारे अदालतले आदेश दिने तयारी गरेको छ। अदालतको निर्णय केहीबेरमा आउनेछ।