समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मु कश्मीरमा भएको भीषण आतंकवादी हमलाप्रति समवेदना व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्। उक्त हमलामा ज्यान गुमाएका भारतीय नागरिकप्रति गहिरो दुःख प्रकट गर्दै प्रधानमन्त्री ओलीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
राति अबेर उनले सामाजिक सञ्जालमार्फत आफ्नो समवेदना सार्वजनिक गर्दै आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उनले नेपाल सरकार सधैं शान्ति, स्थायित्व र आतंकवादविरुद्धको साझा लडाइँमा भारतको साथमा रहेको स्पष्ट पारेका छन्। यही घटनालाई लिएर नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै हमलाको तीव्र निन्दा गरेको छ। मन्त्रालयले यस प्रकारका हिंसात्मक क्रियाकलाप शान्तिपूर्ण समाजको मूल्य र मान्यताविरुद्ध भएको जनाएको छ।
घटनामा जम्मु कश्मीरमा खटिएका करिब ४० जना प्रहरी जवानले ज्यान गुमाएका छन् भने दर्जनौं सुरक्षाकर्मी घाइते छन्। यस दर्दनाक घटनाले सम्पूर्ण दक्षिण एशियाली क्षेत्रको सुरक्षा चुनौतीमा थप चासो उत्पन्न गराएको छ।