समाचार सुन्नुहोस :
काठमाडौँ – भारतको जम्मु–कश्मिर राज्यको प्रसिद्ध पर्यटकीय स्थल पहलगाममा चरमपन्थी आक्रमण भएको छ। बन्दुकधारीहरूको गोली प्रहारमा परी कम्तीमा २६ जना पर्यटकको ज्यान गएको छ भने कयौं घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। भारतीय अधिकारीहरूका अनुसार आक्रमण अचानक भएको थियो र घाइतेहरूलाई तत्कालै अनन्तनागको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ। जम्मु–कश्मिरका स्वास्थ्यमन्त्री सकिना इटुका अनुसार एक घाइतेको अवस्था अत्यन्त गम्भीर छ।
राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो घटनालाई पछिल्ला वर्षको सबैभन्दा ठूलो नागरिक लक्षित हमला बताउँदै यसप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा यो आक्रमणलाई निन्दनीय भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भन्दै निन्दा गरेका छन् र दोषीलाई कारबाही हुने चेतावनी दिएका छन्।
घटना पर्यटकहरूको मुख्य सिजनमा भएको हो। जहाँ पहलगाम आफ्नो प्राकृतिक सौन्दर्यका कारण सयौं पर्यटक आकर्षित गर्ने गन्तव्य मानिन्छ। यो आक्रमणले स्थानीय सुरक्षाप्रणाली र पर्यटक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।