काठमाडौं – राजसंस्था पुनर्स्थापनाको पक्षमा गठन गरिएको समितिका निवर्तमान संयोजक नवराज सुवेदीको घरबाट प्रहरीले निगरानी हटाएको छ । चैत १५ गतेको रातदेखि गौरीघाटस्थित सुवेदीको निवास वरिपरि तैनाथ प्रहरी टोली मंगलबारबाट हटाइएको हो ।
समितिका प्रवक्ता स्वागत नेपालका अनुसार, करिब २४ दिनसम्म निरन्तर निगरानीमा रहेका सुवेदीको वरपरबाट प्रहरी हटाइएपछि परिस्थिति केही सामान्य भएको देखिन्छ । चैत १५ मा राजसंस्था समर्थकहरूको प्रदर्शन उग्र बन्दै हिंसात्मक बनेपछि सुवेदीलाई घरमै निगरानीमा राखिएको थियो । उक्त समयमा उनलाई बाहिर जानसमेत रोक लगाइएको थियो । सोही कारण कार्यसम्पादनको जिम्मा कार्यबाहक संयोजकको रूपमा जगमान गुरुङलाई दिइएको थियो ।
यसबीच, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीले भने प्रहरीको उपस्थितिलाई सामान्य सुरक्षा व्यवस्था भएको बताएका छन् । ‘कसैलाई घेरेर राख्ने उद्देश्य थिएन, अवस्था अलिकति संवेदनशील भएको हुनाले सुरक्षा दिइएको मात्र हो,’ उनले भने ।
उक्त प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए। हिंसात्मक प्रदर्शनमा सार्वजनिक तथा निजी सम्पत्तिहरूमा क्षति पुर्याइएको थियो ।