टोकियो – कैलालीको टिकापुरका २७ वर्षीय भरत धामीको जापानमा अल्पायुमै निधन भएको खबरले जापानस्थित नेपाली समुदायलाई स्तब्ध बनाएको छ । करिब ६ वर्षअघि विद्यार्थी भिसामा जापान आएका धामीको निधनप्रति सुदूरपश्चिमेली नेपाली समाज जापानले गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
स्व. धामीको परिवारलाई थोरै भएपनि आर्थिक राहतको लागि सहयोग पुर्याउने उद्देश्यले सुदूरपश्चिमेली नेपाली समाज जापानको पहलमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । यस अभियानमा जापानभरिका विभिन्न संघसंस्था र नेपालीहरूले सहयोग गरेका छन् ।
संकलित सहयोग रकम ¥304,000 (तीन लाख चार हजार येन) पुगेको छ, जुन नेपाली रुपैयाँमा रूपैयाँ २,९०,३२० (दुई लाख नब्बे हजार तीन सय बीस) बराबर हुन्छ । उक्त रकम मृतककी आमा जौमती धामी भण्डारीको नाममा महालक्ष्मी बैंक, टिकापुरमा रहेको खातामा रेमिट्यान्समार्फत पठाइएको छ ।
यो अभियानमा सुदूरपश्चिमेली नेपाली समाज टोकियो,एनआरएनए जापान, कर्णाली समाज जापान, बझाङ समाज जापानलगायत थुप्रै संघसंस्था र दर्जनौं नेपाली नागरिकहरूले आ-आफ्नो सामर्थ्य अनुसार सहयोग गरेका थिए । सुदूरपश्चिमेली नेपाली समाज जापानले आर्थिक सहयोग प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
सहयोग सूचीमा नाम छुटेको खण्डमा जानकारी गराउन अनुरोध गरिएको छ । केही सहयोगदाताहरूबाट समयमै रकम प्राप्त नहुनुले रेमिट्यान्स प्रक्रिया केही ढिलो भएको जानकारी समेत समाजले दिएको छ ।