टोकियो – जापानको प्रतिष्ठित फुजी पर्वत चढ्न चाहनेहरूले अबदेखि उपयुक्त पर्वतारोहण पोशाक तथा उपकरण अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने भएको छ । पर्वतको सबैभन्दा लोकप्रिय पदमार्ग पर्ने यामानाशी प्रान्तले सार्वजनिक गरेको नयाँ निर्देशिकाअनुसार, आरक्षण प्रक्रिया सुरु हुने आगामी बिहीबारदेखि यो नियम लागू हुनेछ ।
नयाँ व्यवस्थाअनुसार, आरोहीहरूले अनलाइनमार्फत अग्रिम आरक्षण गर्दा न्यानो लुगा, बलिया तथा उपयुक्त जुत्ता लगायतको पर्वतारोहण पोशाक अनिवार्य रूपमा लगाउने सहमति जनाउनुपर्नेछ । नियमको उल्लङ्घन भएमा, प्रख्यात योशिदा ट्रेलमार्ग हुँदै पर्वत प्रवेशमा रोक लगाइने यामानाशी प्रान्तीय सरकारले स्पष्ट पारेको छ ।
विदेशी पर्यटकहरूको चाप तीव्र रुपमा बढ्दै गइरहेका बेला, गत वर्ष पर्वतमा हल्का लुगा लगाएर चढ्ने दृश्यहरू सामान्यजस्तै बनेका थिए । यसले सुरक्षालाई चुनौती दिन थालेपछि स्थानीय सरकारहरू आगामी जुलाईबाट सुरु हुने आरोहण सिजनलाई सुरक्षित, व्यवस्थित र पर्यावरणमैत्री बनाउने तयारीमा छन् ।
पर्वत चढ्नेहरूले अब फोहोर नगर्ने, तोकिएको बाटोबाट नहट्ने लगायतका नियममा पनि अनिवार्य सहमति जनाउनु पर्नेछ । आरक्षण गर्न चाहनेले सरकारी वेबसाइटमार्फत प्रक्रिया पूरा गरी ४ हजार येन अग्रिम शुल्क तिर्नुपर्नेछ ।
फुजी पर्वतका अन्य तीन पदमार्ग व्यवस्थापन गर्ने शिजुओका प्रान्तले पनि आगामी मे महिनादेखि आरक्षण प्रणाली लागू गर्दैछ । आरोहीहरूले नियम र शिष्टाचार अध्ययन गर्नुपर्नेछ भने यस प्रान्तमा पनि समर सिजनदेखि ४ हजार येन शुल्क संकलन गरिनेछ ।
सन् २०१३ मा युनेस्को विश्व सांस्कृतिक सम्पदाको रूपमा सूचीकृत फुजी पर्वत प्रत्येक वर्ष सयौं हजारौं पर्यटकहरूलाई आकर्षित गर्छ । आधिकारिक आरोहण सिजन जुलाईदेखि सेप्टेम्बरसम्म चल्ने गर्दछ ।