समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले) का पूर्व नेता तथा मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले पूर्व पार्टी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘निरङ्कुश’ भन्दै कडा आलोचना गरेका छन्।
सुदूरपश्चिम प्रदेशका एमाले लेखा समितिका सदस्य बालागिरी कुँवरसहित करिब ७० जना नेता–कार्यकर्ताहरू एमाले परित्याग गरी आफ्नो अभियानमा सहभागी भएको भन्दै रावलले स्वागत गर्दै ओलीको नेतृत्वप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले “सिद्धान्तविहीन र तानाशाही शैली” विरुद्ध विद्रोह गरेको भन्दै सहभागी सबैलाई धन्यवाद दिए।
ओलीविरुद्ध प्रायः आलोचनात्मक रुपमा प्रस्तुत हुँदै आएका रावल पार्टीको १०औं महाधिवेशनपछि अझ टाढिए। आफूलाई नजरअन्दाज गरिएको गुनासोसहित निरन्तर असन्तुष्टि जनाउँदै आएका उनले गत पुसमा एमालेबाट निलम्बनसमेत भोगे।
निलम्बनपछि रावलले मातृभूमि जागरण अभियान गठन गरेका छन्, जसलाई उनी हाल राष्ट्रिय स्तरमा अभियानको रूपमा अघि बढाइरहेका छन्। भविष्यमा यसलाई नयाँ राजनीतिक दलको रूप दिने तयारीमा समेत उनी रहेको बताइएको छ।