समाचार सुन्नुहोस :
काठमाडौँ – बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि बढ्दो अत्याचारको सन्दर्भमा थप एक दुःखद घटना सार्वजनिक भएको छ। उत्तरी बंगलादेशको दिनाजपुर जिल्लामा हिन्दु समुदायका एक प्रमुख नेता भावेश चन्द्र रायको अपहरणपछि हत्या गरिएको छ।
५८ वर्षीय राय बिहीबार दिउँसो आफ्नै घरबाट अपहरणमा परेका थिए। उनका परिवारका अनुसार अपराह्न ४:३० बजे उनलाई एक व्यक्तिको फोन आएको थियो। केही समयमै दुई वटा मोटरसाइकलमा आएका चार व्यक्तिले उनलाई जबरजस्ती लगेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार रायलाई नजिकैको नाराबारी गाउँ लगेर कुटपिट गरिएको थियो। स्थानीय प्रहरीका अनुसार रायलाई गम्भीर घाइते अवस्थामा घरमा फिर्ता ल्याइएको थियो। त्यसपछि उनलाई तत्काल स्थानीय अस्पताल र त्यसपछि दिनाजपुर मेडिकल कलेज लगिएको थियो, जहाँ डाक्टरहरूले मृत घोषणा गरे।
भावेश राय बंगलादेश पूजा उद्यापन परिषद्को बिरल इकाइका उपाध्यक्ष थिए र हिन्दु समुदायमा प्रभावशाली व्यक्तित्व मानिन्थे। घटनापछि स्थानीय र राष्ट्रियस्तरमा तीव्र निन्दा व्यक्त गरिएको छ। साथै, मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारमाथि अल्पसंख्यक समुदायको सुरक्षामा चुक भएको गम्भीर आरोप लगाइएको छ। मानवअधिकारकर्मी र राजनीतिक विश्लेषकहरूले यस घटनालाई धार्मिक सहिष्णुता र अल्पसंख्यक अधिकारप्रतिको गम्भीर चुनौतीको रुपमा हेरेका छन्।