काठमाडौं – तीनकुनेमा राजावादी समूहले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनको अनुसन्धानक्रममा संलग्नता देखिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ‘सन्तोष राजावादी’ नामले चिनिने सन्तोष कुमार सिलवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) टोलीले गएराति काठमाडौंको कोटेश्वरस्थित महादेवस्थानबाट पक्राउ गरेको हो ।
३४ वर्षीय सिलवाललाई नियन्त्रणमा लिएपछि राति नै जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाइएको छ । प्रहरीले उनी तीनकुने घटनाको दिन निषेधित क्षेत्र तोड्न उद्यत समूहमा सक्रिय रुपमा सहभागी भएको बताएको छ ।
तीनकुनेस्थित प्रदर्शनमा राजावादी समूहले पार्टी कार्यालय, सपिङ कम्प्लेक्सलगायत सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाट गरेका थिए । प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीको एक जना र एक जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।
प्रहरीले घटनापछि संलग्न व्यक्तिहरूको पहिचान गर्दै निगरानी बढाएको थियो । त्यसै क्रममा सिलवाललाई काठमाडौं महानगरपालिका-३२ स्थित आफ्ना आफन्तको घरबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले हालसम्म घटनासम्बन्धी अनुसन्धानलाई तीव्र पारेको छ । प्रारम्भिक रुपमा करिब दुई सयभन्दा बढीलाई पक्राउ गरी छानबिन गरिएको जनाइएको छ । तर, स्क्रिनिङपछि संलग्न नभएका धेरैलाई रिहा गरिएको एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार हालसम्म ८२ जनाविरुद्ध अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको छ ।