समाचार सुन्नुहोस :
काठमाडौँ – उच्च अदालत जनकपुरले लामो समयदेखि चर्चामा रहेका रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा निर्दोष ठहर गरेको छ। अदालतले जिल्ला अदालत सर्लाहीको १० वर्षको कैद सजायसम्बन्धी फैसलालाई उल्टाउँदै बम्जनलाई सफाइ दिएको हो।
न्यायाधीश खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले रामबहादुरसँगै ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई पनि मुद्दाबाट उन्मुक्ति दिएको छ। उच्च अदालतको भनाइमा, उक्त मुद्दाको प्रारम्भिक प्रक्रिया नै त्रुटिपूर्ण अर्थात् ‘डिफेक्टिभ’ भएकोले जिल्ला अदालतको फैसला टिक्न नसक्ने ठहर गरिएको हो। बम्जनमाथि २०७६ सालमा गंगामाया तामाङले उजुरी दिएकी थिइन्। उनले आफूमाथि २०७३ मा, आफू नाबालक रहँदा, बम्जनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। सिन्धुपाल्चोकमा आश्रम सञ्चालन गर्दै आएका बम्जनलाई जिल्ला अदालतले दोषी मानेर १० वर्षको कैद सजाय सुनाएको थियो।
तर, उच्च अदालतको पछिल्लो निर्णयले बम्जनसहित अन्य दुई अभियुक्तलाई मुद्दाबाट पूर्णरूपमा मुक्त गराएको छ। यस फैसलाले सामाजिक र कानुनी तहमा फेरी बहसको वातावरण सिर्जना गरेको छ।