समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षसँगै मुलुकमा राजनीतिक परिवर्तन हुने संकेत गरेका छन्। चितवनमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले पछिल्ला घटनाक्रम र अनुभवले नयाँ सरकार गठनको सम्भावना देखिएको धारणा व्यक्त गरे।
प्रचण्डले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै भने, “परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।” उनले जनताबीच सरकारप्रति असन्तोष बढ्दै गएको र सरकारमा रहेका दलहरु समेत जनताकै दबाबमा आएको संकेत गरे।
उनले आशावादी ढंगले भने, “नयाँ वर्षले मुलुकलाई कुनै न कुनै राजनीतिक निकास त अवश्य दिनेछ।” यसअघि एक टेलिभिजन अन्तर्वार्तामा पनि प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सत्ता संयोजन बन्न सक्ने बताएका थिए। सोही सन्दर्भमा पत्रकारहरूले थप जानकारी माग्दा उनले “नयाँ घटनाक्रम र अनुभवका आधारमा” बोलेको भन्दै यसबारे धेरै नखोतल्न आग्रह गरे।