समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै प्रहरीको कदमलाई मानवअधिकार उल्लंघन र ज्यादतीको संज्ञा दिएको छ। पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा औपचारिक उजुरी दिंदै घटनाको विस्तृत विवरण प्रस्तुत गरेको हो।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहित नेताहरूले आयोगका आयुक्तहरूलाई भेटी लामिछानेको गिरफ्तारी प्रक्रियामा न्यायिक मापदण्ड उल्लंघन भएको दाबी गरे। उजुरीमा पीडितको जिउज्यान तथा मानवअधिकारको सुरक्षा सुनिश्चित हुन नसकेको उल्लेख गरिएको छ र आयोगलाई आवश्यक छानबिनका लागि अनुरोध गरिएको छ।
रास्वपाका अनुसार, उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको थुनामा पठाउने आदेश उल्टाएको भए पनि सो आदेश जिल्ला अदालतमा पुग्नु अगावै प्रहरीले रातारात काठमाडौँको बुढानीलकण्ठबाट लामिछानेलाई पक्राउ गरेको हो। उनी एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखिएपछि सोमबार कारागार चलान गरिएको थियो।
पार्टीले यस घटनाले नागरिकको मौलिक अधिकार र स्वतन्त्रतामा गम्भीर असर पारेको दाबी गर्दै न्यायिक प्रक्रियाको उल्लंघनबाट उत्पन्न गम्भीर प्रश्नहरू उठाएको जनाएको छ। रास्वपाले दोषीमाथि कारबाही र पूर्ण छानबिनको माग अघि सारेको छ।