समाचार सुन्नुहोस :
काठमाडौँ – मौसम खराब र वायु प्रदूषणका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबारदेखि नियमित उडान ठप्प छ। आइतबार आधा मात्र उडान संचालन भएको थियो। मंगलबारको सेड्युल पनि ठप्प छ। विमानस्थल प्रबन्धक योगेन्द्र कुँवरले भिजिबिलिटी न्यून भएको गुनासो गरे।
सामान्यतया पोखरामा दैनिक ३२ उडान हुने गर्छ। तर, हाल बाक्लो तुवाँलोले गर्दा भिजिबिलिटी २ हजार मिटरभन्दा कम छ। सुरक्षित उडानका लागि कम्तीमा २७ सय मिटर र अवतरणका लागि ३ हजार मिटर चाहिन्छ। यसले गर्दा यात्रुहरू समस्यामा देखिएका छन्।
पोखराको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १५० भन्दा माथि पुगेको छ, जुन चिन्ताजनक स्तर हो। विशेषज्ञ डा. अनुप सुवेदीले सरकारले प्रदूषण नियन्त्रणमा गम्भीरता नदेखाएको आरोप लगाए। उनले धुवाँ निकाल्ने कारखाना अस्थायी रूपमा बन्द गर्ने, जीवाश्म इन्धन प्रयोग कम गर्न सुझाव दिएका छन्।
नेपालमा वायु प्रदूषणले हरेक वर्ष ४८ हजार जनाको ज्यान लिने गरेको उनको भनाइ छ। नागरिक समाजले पनि यस विषयमा तत्काल उचित कदमको सुरुवात गर्न माग गरेको छ।