टोकियो – जापानको राजधानी टोकियोमा यो वर्षको साकुरा फुल्ने मौसम सुरु भएको छ । यासुकुनी मन्दिरको प्राचीन साकुरा रुखमा गत सोमबार ६ थुँगा फूल फक्रिएपछि जापानी मौसम विभाग (JMA) ले यस वर्षको साकुरा मौसम सुरु भएको औपचारिक घोषणा गर्यो ।
टोकियोमा साकुराको सुरुआत सधैं यासुकुनी मन्दिर परिसरको एउटा विशेष रुखबाट मानिन्छ- जब कम्तिमा पाँच थुँगा फक्रन्छन्, त्यो सिंगो देशका लागि साकुराको संकेत बन्छ । र त्यसको केही दिनमै टोकियोका पार्क, बाटा, नदी किनार र मन्दिरहरू गुलाबी र सेता रंगले झुल्किन थाल्छन् ।
यस वर्ष अघिल्लो वर्षको तुलनामा पाँच दिन अघि नै साकुरा फक्रिन थालेको छ, जुन मौसमप्रेमीहरूका लागि उत्साहको खबर हो । अनुमान छ, अबको ७-१० दिनभित्र राजधानी टोकियो साकुराले ढकमक्क हुनेछ- त्यो दृश्य जुन फोटोले पनि समेट्न सक्दैन, अनुभव गर्नैपर्छ ।
साकुराको थुँगामा जीवनको नवीनता, क्षणिकताको सौन्दर्य र वसन्तको मिठास लुकेको हुन्छ । यिनै नाजुक फूलहरूले जापानको आत्मासँगै यहाँ आउने पर्यटकको मन पनि छुन्छन् ।