समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई पार्टीको उपाध्यक्षमा मनोनीत गरेको छ। स्रोतका अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो ।
माघमा औपचारिक रूपमा पार्टी राजनीतिमा फर्किएका पासाङलाई त्यसबेला ‘आर्थिक उत्पादन संयन्त्र’को इन्चार्ज बनाइएको थियो। उपराष्ट्रपतिको कार्यकालपछि उनी अनौपचारिक रूपमा पार्टी बैठकमा सहभागी हुँदै आएका थिए। दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन केही समयदेखि अनौपचारिक रूपमा पार्टी बैठकमा सहभागी हुँदै आएका थिए।
उनलाई उत्पादन क्षेत्रमा काम गर्नेगरी जिम्मेवारी समेत दिइएको छ। उनी माओवादी जनयुद्धकालका डेपुटी कमान्डर हुन्। शान्ति प्रक्रियापछि सेना समायोजनमा नगई संसदीय राजनीतिमा लागेका उनी २०७२ मा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। २०७९ को निर्वाचनपछि भने उनी पदमुक्त भएका थिए।