समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्दै तीनकुने घटनाको निष्पक्ष छानबिन र हिरासतमा रहेका आफ्ना नेतासहित सबै प्रदर्शनकारीको रिहाइको माग गरेको छ।
एक साताअघि चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको र सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। त्यस घटनापछि राप्रपाका वरिष्ठ नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ। राप्रपाले उक्त घटनामा सरकारको तर्फबाट भएको बल प्रयोगलाई “राज्यद्वारा आतङ्क” को संज्ञा दिँदै दोषी सुरक्षा अधिकारीमाथि कारबाही र गृहमन्त्रीको राजीनामा माग गरेको छ।
सुन्धारादेखि शान्तिबाटिकासम्मको -यालीपछि कोणसभामा परिणत भएको प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले झुटा मुद्दा खारेज गर्न, निष्पक्ष न्यायिक आयोग गठन गर्न र नागरिक स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने माग गर्दै नाराबाजी गरे। पार्टीले घटनामा संलग्न वा दोषी ठहरिने व्यक्तिमाथि मात्रै कारबाही हुनुपर्ने र सम्पूर्ण प्रक्रिया निष्पक्ष हुनुपर्ने स्पष्ट पारेको छ।