समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन शाहलाई चेतावनी दिएकी छिन्। बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगरको कार्यालयमा हाजिर हुन पुगेका थिए। तर, नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो । यस क्रममा, कर्मचारीहरूले कार्यकक्षको प्रवेशद्वारमा तोडफोड गरेका थिए। घटनापछि उपमेयर डंगोलको नेतृत्वमा बैठक बसेको छ। बैठकमा उनले महानगरमा भइरहेको हरेक गतिविधिबारे आफूहरू पूर्ण रूपमा सचेत रहेको बताउँदै
मेयर बालेनलाई कोठामा बसेर निर्देशन नदिन अनुरोध गरेकी हुन्।
‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाईं हुनु पनि राम्रो होइन ।’ यस्तो मनमुटाव संस्थाभित्र हुनुहुँदैन भन्दै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको उनले बताइन् ।
‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उनले भनिन्, ‘पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’