काठमाडौं – यहाँ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवाका परिवारलाई सरकारले राहतस्वरूप १०/१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनका परिवारलाई आर्थिक सहायता प्रदान गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
पत्रकार सुरेश रजक शुक्रबार बिहान १० बजे सहकर्मी अनिल रायमाझीसँग रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए। तीनकुनेस्थित एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर उनको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टले उनी जलेर मृत्यु भएको पुष्टि गरेको छ ।
उता, कीर्तिपुर-४ गाम्चाका २९ वर्षीय सविन महर्जनको काठमाडौं-हेटौंडा रुटमा सुमो गाडी चलाउँदै गर्दा प्रहरीको गोली लागी मृत्यु भएको हो ।
यसअघि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजकका परिवारलाई ५ लाख र कीर्तिपुरका सविन महर्जनका परिवारलाई ३ लाख दिने घोषणा गरिसकेका छन् । राजसंस्था पुन:स्थापनाको माग गर्दै दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले काठमाडौंको तीनकुने सहित विभिन्न स्थानमा तोडफोड,आगजनी तथा लुटपाट समेत गरेको थियो ।