समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी चैत १ गतेदेखि नागरिकता सम्बन्धी सिफारिसहरू अनलाइन मार्फत स्वीकार गर्ने तयारी गरेको छ। यो सेवा सुविधाजनक बनाउन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा महानगरपालिकाको सूचना प्रविधि विभागले वडा सचिवहरूलाई केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सिसिआइएमएस) को प्रयोग गर्ने प्रशिक्षण दिई युजर नेम र पासवर्ड उपलब्ध गराएको छ।
यस प्रणालीमार्फत नागरिकले आवश्यक विवरणहरू अनलाइन प्रविष्ट गर्न सक्ने, कागजातहरू प्रमाणित गरी स्क्यान गरी अपलोड गर्ने र सम्बन्धित विवरण पठाउन सक्ने सुविधा उपलब्ध छ। गृह मन्त्रालयले विकास गरेको यो प्रणाली हालसम्म २० जिल्लाका करिब २,५०० वडामा सञ्चालनमा ल्याइसकेको छ।
सिसिआइएमएस प्रणालीमा दुई मोड्युल रहेका छन्। एउटा इन्टरनल मोड्युल हो भने अर्को एक्सटर्नल मोड्युल हो। यी मोड्युलहरू मार्फत नागरिकता सम्बन्धी प्रक्रियाहरू अझ सहज र पारदर्शी बनाउने लक्ष्य राखिएको छ। यसले नागरिकता प्रक्रियामा ढिलाइ र जटिलता कम गर्ने अपेक्षा गरिएको छ।