समाचार सुन्नुहोस :
काठमाडौँ – संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ। यो टोली चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा नेपाल आएको हो। यस कार्यक्रमलाई ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ नाम दिइएको छ।
सोमबार नेपाल आएको टोलीलाई सांसद उर्मिला माझी र नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले स्वागत गरे। उनीहरूले यो आगमन नेपालको पर्यटन प्रवर्द्धनका लागि ठूलो उपलब्धि भएको बताए। स्वागत कार्यक्रममा साङ्गीतिक समूह सुकर्मले आफ्नो प्रस्तुति दिएको थियो। नेपाल भ्रमण वर्ष २०२५ र नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा यो कार्यक्रम आयोजना गरिएको हो। फोरमका संयोजक डा. कल्याणराज शर्माले यो कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर हुने बताए।
चिनियाँ फोटोग्राफरहरूले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक र ऐतिहासिक स्थलहरू भ्रमण गरी यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रदर्शन गर्नेछन्। उनीहरूले फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रङ्गमय नेपालको फोटो खिच्ने योजना बनाएका छन्। राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले यो जानकारी दिए।
यस कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउन र नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। चिनियाँ फोटोग्राफरहरूले नेपालको संस्कृति, जीवनशैली र परम्परागत सम्पदालाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्नेछन्।