काठमाडौं – देशको संघीय राजधानी काठमाडौंमा आइतबार आयोजित पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत जुलुस नयाँ विवादको केन्द्र बनेको छ । कार्यक्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग गरिएपछि राजनीतिक वृत्तमा बहस चर्किएको छ ।
मूलतः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालबीच यस विषयलाई लिएर सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चलेको छ । एमाले उपमहासचिवसमेत रहेका रिमालले जुलुसमा आदित्यनाथको तस्वीर प्रयोग गरिएको विषयमा सामाजिक सञ्जालमार्फत आलोचना गरेपछि शाहीले त्यसको प्रतिवाद गरेका थिए । उनले प्रधानमन्त्री ओलीकै निर्देशनमा रिमालले यो विषयलाई उछालिएको आरोप लगाउँदै सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए ।
यसको जवाफमा रिमालले शाहीको दाबीलाई चुनौती दिँदै उनलाई ‘नालायक’को संज्ञा दिए । तर, बहस यत्तिमै रोकिएन । मंगलबार बिहान पुनः शाहीले कडा टिप्पणी गर्दै रिमाललाई लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ मच्चाएको आरोप लगाए । उनले प्रधानमन्त्री ओली प्रत्यक्ष निर्वाचित कार्यकारी बन्न तयार होऊन् र रिमाल वडा अध्यक्षका लागि उम्मेदवारी दिन सल्लाह दिए ।