समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेक राष्ट्रहरूको छैटौं सम्मेलनमा सहभागी हुन चैत १९ गते थाइल्याण्डको बैंकक जाने भएका छन्। उनीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी हुनेछन्। बिम्स्टेक सम्मेलन अप्रिल २ र ३ (चैत १९–२०) मा आयोजना हुँदैछ। यसअघि थाइल्याण्डको राजनीतिक अस्थिरताका कारण सम्मेलन स्थगित भएको थियो।
सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने सम्भावना छ। परराष्ट्र मन्त्रालयले यसको तयारी गरिरहेको बताइएको छ। यसअघि असोज ७ मा न्युयोर्कमा संयुक्त राष्ट्रसंघ महासभाका क्रममा दुवै नेताबीच भेटवार्ता भएको थियो।
बिम्स्टेक सम्मेलनमा उद्योग, कृषि, ऊर्जा, सूचना प्रविधि, व्यापार र कनेक्टिभिटीका विषयमा छलफल हुनेछ। नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड बिम्स्टेकका सदस्य राष्ट्र हुन्। नेपालले सम्मेलनमा उठाउने एजेण्डा तय गर्न एक साताभित्र निर्णय गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।