समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बोसीगाउँस्थित आरएमबी प्लास्टिक प्याकेजिङ हाउस (कवाड कारखाना) मा आज बिहान भीषण आगलागी भएको छ। पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको कारखानामा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार, आगलागी नियन्त्रणका लागि प्रहरी वृत्त बालाजु, थानकोट र प्रभागका ३२ जना प्रहरी टोली खटिएको थियो। साथै, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरूको समेत सक्रिय सहभागिता रहेको थियो। कवाड कारखाना जलेर नष्ट भएको छ । तर, यकिन क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि सातवटा दमकल र १५ वटा पानी ट्याङ्कर परिचालन गरिएको थियो। चन्द्रागिरि नगरपालिका, विशाल बजार बारूण यन्त्र, बालाजु, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बौद्ध रामहिटी र बूढानीलकण्ठ नगरपालिकाका दमकलको सहायताले आगो निभाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।