काठमाडौं – बुध्द एयरको जहाजको पाँग्रा खसेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । जनकपुरबाट काठमाडौं आएको जहाजको अगाडिको दुईमध्ये एउटा पाँग्रा खसेको विषय बाहिरिएपछि यसले सामाजिक सञ्जालमा बहस विषय बनेको हो ।
बिहीबार जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको पाइएको छ । जहाज जनकपुरबाट काठमाडौंका लागि ४ः४५ बजे उडेको थियो । काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
तर पाँग्रा खसेको चालक दलका सदस्यले भने कुनै जानकारी नै पाएनन् । जनकपुर विमानस्थलमा खबर गर्दा धावनमार्गमै पाँग्रा भेटिएको हो । उक्त जहाजमा ६२ जना यात्रु सवार थिए ।
यस विषयमा बुध्द एयरका प्रवक्ता तथा सेल्स हेड रुपेश जोशीले उडानको क्रममा पाँग्रा खसेको चालक दलका सदस्यलाई जानकारी नै नहुने तर्क दिए । उनले दुई मध्ये एउटा मात्र पाँग्रा अस्दा अवतरणमा समस्या नभएको जानकारी दिए । ‘पाँग्रा निस्केको थाहै भएन, यस्तो हुनु हुँदैन, हामीले पाँग्रा पाइसकेका छौं, यसले अवतरणमा कुनै समस्या नभएपनि स-साना गलित हुनु राम्रो भने होइन,’ उनले भने ।