टोकियो – जापानमा दुई डिब्बा एकअर्काबाट छुट्टिएपछि बुलेट ट्रेन सेवा तीन घण्टासम्म अवरुद्ध भएको छ । बिहीबार तोहोकु शिन्कान्सेन लाइनको एउटा बुलेट ट्रेन टोकियो नजिकैको एक स्टेशनमा आपतकालीन रूपमा रोकिएको हो ।
रेलवे सञ्चालकहरुकाअनुसार पूर्वी जापानमा बुलेट ट्रेन सेवाहरू तीन घण्टासम्म अवरुद्ध भएको थियो । घटनाले सार्वजनिक सुरक्षामा चिन्ता बढाएको छ, किनभने यस्तै एउटा घटना गत वर्ष पनि पूर्वोत्तर जापानमा हायाबुसा-कोमाची सेवामा भएको थियो ।
घटनापछि यातायात सुरक्षासम्बन्धी निकायहरूले छानबिन थालेका थिए । ‘यातायात मन्त्रालयमार्फत हामीले ट्रेन सञ्चालकहरूलाई घटनाको कारण पत्ता लगाई आवश्यक रोकथाम उपाय लागू गर्न आदेश दिएका छौं,’ प्रमुख मन्त्रिपरिषद् सचिव योशिमासा हयाशीले भने, ‘जेआर इस्ट र जेआर होक्काइडोलाई निर्देश दिइएको छ ।’दिनको पछिल्लो समयमा बुलेट ट्रेन सेवाहरू पुनः सञ्चालनमा आएका छन् । हायाबुसा-कोमाची ट्रेन सेवा, जसमा दुईवटा ट्रेनहरू आपसमा जोडिएका हुन्छन्, बिहानको समयमा उएनो र ओमिया स्टेशनहरूबीच छुट्टिएको भेटिएको थियो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा जेआर इस्टले घटनाको कारण पहिचान नभएसम्म र आवश्यक सुधारात्मक उपायहरू लागू नगरिएसम्म सबै जडान भएका शिन्कान्सेन सञ्चालन स्थगित गरिने जनाएको छ ।
घटनाको समयमा उक्त बुलेट ट्रेनमा करिब ६ सय ४० यात्रु सवार थिए । तर कसैलाई कुनै चोटपटक नलागेको रेलवे सञ्चालकले जनाएको छ ।