समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिन आगामी शनिबार काठमाडौंमा वृहत् जुलुस र विरोधसभा गर्ने घोषणा गरेको छ।
महासंघका अनुसार, यसअघि भएका सहमति कार्यान्वयन गराउन र सरकारलाई विद्यालय शिक्षा ऐन जारी गर्न बाध्य पार्न माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गर्न लागिएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विरोध सभा फागुन २४ गते शनिबार दिउँसो १ बजे हुने जानकारी दिएका छन्। त्यसपछिको दिन, फागुन २५ गते, राष्ट्रिय समितिको बैठक बस्नेछ। महासंघले उपत्यकाबाहिरका शिक्षकहरूलाई समेत आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ।
महासंघले निकालेको पत्रमा, “फागुन २४ गते माइतीघरमा हुने विरोध प्रदर्शन र फागुन २५ गतेको राष्ट्रिय समितिको बैठकमा उपस्थिति जनाउन महासंघका पदाधिकारी, सदस्य, सम्बद्ध संस्थाका अध्यक्ष, महासचिव तथा सल्लाहकारहरूलाई शीघ्र काठमाडौं आउन अनुरोध गरिन्छ,” उल्लेख गरिएको छ।