टोकियो – गिनिज वर्ल्ड रेकर्ड्सले जापानी महिलालाई विश्वकै सबैभन्दा जेठी महिला नाईको रूपमा मान्यता दिएको छ । पूर्वी जापानको तोचिगी प्रिफेक्चरको नाकागावाकी १०८ वर्षीया शित्सुई हाकोइशीलाई गिनिज वर्ल्ड रेकर्ड्सले बुधबार विश्वकै सबैभन्दा ज्येष्ठ महिला नाईको रूपमा आधिकारिक रूपमा मान्यता प्रदान गरेको हो ।
उनले प्रमाणपत्र पाउँदा छिमेकी र नियमित ग्राहकहरूले उत्सव मनाएका थिए । ‘सानैदेखि जीवन संघर्षले भरिपूर्ण रह्यो, तर म साँच्चै खुशी छु,’ उनले भनिन् ।
हाकोइशीले १४ वर्षको उमेरमा टोकियोस्थित एक नाइशालामा प्रशिक्षार्थीका रूपमा काम गर्न थालेकी थिइन् र १९३६ मा आफ्नो नाईको अनुमतिपत्र प्राप्त गरिन् । नाई पेशामै रहेका श्रीमानसँग मिलेर पसल खोलेकी थिइन्, तर दोस्रो विश्वयुद्धका क्रममा हवाई आक्रमणमा पसल ध्वस्त भएपछि उनी आफ्नो जन्मथलो फर्किन् । श्रीमानको युद्धमा निधन भएपछि उनले आफ्नै घरमा सानो नाइशाला सञ्चालन गरिन् ।
त्यहीबाट दुई छोराछोरीको पालनपोषण गरिन् । मार्च २०२१ मा टोकियो ओलम्पिकको मशाल रिलेमा सहभागी भएर उनी ऐतिहासिक क्षणको साक्षी बनिन् । अहिले उनलाई घुँडाको समस्याले गर्दा पहिलेजस्तो धेरै ग्राहकलाई सेवा दिन कठिन छ । तर, जब बुकिङ आउँछ, उनी अझै पनि कपाल काट्ने आफ्नो सीप देखाउँछिन् । ‘केही मानिस मलाई भेट्न टाढा–टाढाबाट आउँछन्, त्यसैले सक्दोसम्म काम गर्न चाहन्छु,’ हाकोइशीले भनिन् ।