समाचार सुन्नुहोस :
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र नेपालका लागि जापानी राजदूत माएदा तोरुबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा नेपाल र जापानबीच कायम आपसी समझदारी तथा श्रम सम्झौताका विविध पक्षहरूबारे छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज पाण्डेले जानकारी दिए।
भेटमा मन्त्री भण्डारीले जापानमा कार्यरत नेपाली कामदारहरूको सेवा, सुविधा र सुरक्षाका विषयमा चासो व्यक्त गरेका थिए। साथै, जापान सरकारको आवश्यकताअनुसार दक्ष कामदार पठाउने प्रक्रियालाई सहज बनाउन दुवै पक्षले गहन छलफल गरेका थिए।
जापानी राजदूत तोरुले नेपाली कामदारलाई जापानमा सुरक्षित वातावरण प्रदान गर्ने विषयमा सकारात्मक धारणा राख्दै, आगामी दिनमा दक्ष कामदार आपूर्ति प्रक्रियालाई सहज बनाउन सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, नेपालबाट जापान जाने कामदारहरूको हित र सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्न दुवै पक्ष सहमत भएका छन्।