टोकियो – जापानको राजधानी टोकियो पर्यटक लक्षित वेश्यावृत्ति गर्ने गिरोहको पर्दाफास भएको छ । टोकियोको काबुकिचो मनोरञ्जन र रात्री जीवन क्षेत्रलाई केन्द्रित गरी विदेशी पर्यटकहरूलाई लक्षित गरेको एक कथित वेश्यावृत्ति गर्ने गिरोहको पर्दाफास भएको हो ।
उक्त गिरोहले २०२१ देखि हालसम्म दुई स्थानबाट १.१ अर्ब येन (७.४ मिलियन डलर)कमाएको हुनसक्ने टोकियो प्रहरीले जनाएको छ । यस घटनासँग सम्बन्धित थप अनुसन्धानका क्रममा प्रहरीले ५४ वर्षीय काजुकी सुडोविरुद्ध नयाँ पक्राउ आदेश जारी गरेको छ । उनीमाथि नोभेम्बरदेखि फेब्रुअरीसम्म काबुकिचोमा रहेको पुरुषहरूको ‘एस्थेटिक’ सैलुनमा महिलाहरूलाई यौन सेवाका लागि काममा लगाएको आरोप लागेको छ ।
अर्का एक पुरुषलाई उक्त व्यवसाय सञ्चालनका लागि आर्थिक सहायता प्रदान गरेको आरोपमा पक्राउ गरिएको छ । सुडोले काबुकिचोस्थित एक पार्कमा यौन सेवाका लागि ग्राहक खोजिरहेका महिलाहरूलाई सम्पर्क गरी आफ्नो व्यवसायमा काममा लगाएको बताइएको छ ।
यसअघि, सुडोलाई सोही क्षेत्रमा रहेको अर्को व्यवसायमा महिलाहरूलाई वेश्यावृत्तिका लागि भर्ती गरेको आरोपमा अन्य ६ जना पुरुषहरूसँगै पक्राउ गरिएको थियो। उक्त व्यवसाय मुख्य रूपमा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूलाई लक्षित थियो । त्यस समय प्रहरीले यो जापानमा पहिलो पटक ठूलो मात्रामा विदेशी पर्यटकहरूलाई लक्षित गरी सञ्चालन गरिएको वेश्यावृत्ति गिरोहको पर्दाफास भएको हुनसक्ने बताएको थियो ।
टोकियो महानगरीय प्रहरी विभागका अनुसार प्रहरीले योकोहामाका ४२ वर्षीय कम्पनी कार्यकारी सोएई शिन्जोलाई पनि सोही कानुनको उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको छ । शिन्जोले २०२२ को नोभेम्बरदेखि यस वर्षको जनवरीसम्म सुडोलाई करिब ९(२ मिलियन येन सञ्चालन खर्चका लागि दिएको आरोप लगाइएको छ । शिन्जोले भने आरोप अस्वीकार गर्दै, ‘मलाई यो वेश्यावृत्ति व्यवसाय भएको थाहा थिएन,’ भनेर प्रहरीलाई बताएका छन् ।