टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले म्याराथन प्रतियोगितामा भाग लिन टोकियो पुगेका नेपाली धावकहरूलाई स्वागत तथा सम्मान गरेको छ । एनआरएनएले शुक्रबार टोकियोको सोलमारी सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको हो ।
एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले धावकहरूको मनोबल उच्च पार्दै हौसला प्रदान गर्ने उद्देश्यले गैर कार्यक्रम गरिएको बताए । उनले प्रतियोगितामा सहभागी हुने नेपाली धावकहरूलाई हौसला प्रदान गर्न सहभागिताका लागि पनि आग्रह गरेका हुन् । विशेष गरी सिन्जुकु, आकिहावारा, आसाकुसा, गिन्जा, सिनागावा हुँदै टोकियो स्टेशनसम्मको मार्गमा नेपाली झण्डासहित उपस्थिति जनाएर हौसला दिन अनुरोध गरिएको हो ।
आगामी मार्च २ तारिखका दिन राजधानी टोकियोमा आयोजना हुने प्रतिष्ठित टोकियो म्याराथन २०२५ मा नेपालसहित विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने १० जना नेपाली धावकहरू जापान पुगेका छन् ।