टोकियो – जापानमा भ्यालेन्टाइन डेका अवसरमा सहकर्मीलाई चकलेट दिने परम्परा हराउँदै गएको देखिएको छ । हालै गरिएको एक सर्वेक्षणअनुसार भ्यालेन्टाइन डे’मा चकलेट दिने परम्परा क्रमशः हराउँदै गएको देखिएको हो ।
निप्पोन लाइफ इन्स्योरेन्स कम्पनीले गरेको अध्ययनअनुसार मात्र १२ दशमलव ५ प्रतिशत मानिसहरूले कार्यस्थलका सहकर्मीलाई चकलेट दिने योजना बनाएका छन् । जुन यो संख्या अहिलेसम्मकै न्यून हो । सर्वेक्षणमा सहभागी ७० प्रतिशतभन्दा बढीले कार्यस्थलमा चकलेट उपहार दिन आवश्यक नभएको वा त्यति महत्वपूर्ण नदेखिएको बताएका छन् ।
अनलाइन सर्वेक्षण जनवरी ४ देखि १५ सम्म सञ्चालन गरिएको थियो, जसमा ११ हजार ७ सय १६ जनाले सहभागिता जनाए । सहभागीहरूको ठूलो हिस्सा ५० र ६० वर्ष उमेर समूहका थिए । जापानी परम्पराअनुसार महिलाहरूले भ्यालेन्टाइन डेका दिन आफ्ना जीवनसंगी, सहकर्मी तथा अन्य परिचित पुरुषहरूलाई चकलेट उपहार दिने चलन छ । तर, पछिल्ला वर्षहरूमा टेलिवर्कको प्रचलन बढ्दै गएकाले कार्यस्थलका सम्बन्धहरू पहिलेभन्दा कम प्रभावशाली भएको अनुसन्धानकर्ता नाओको कुगाले बताइन् ।
यस वर्ष भ्यालेन्टाइन डेका लागि कुनै न कुनै उपहार दिने योजना बनाएका व्यक्तिहरूको संख्या ३५ दशमलव ३ प्रतिशत मात्र रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ दशमलव ३ प्रतिशतले कम हो । उपहार दिनेहरूमध्ये ६४ दशमलव ३ प्रतिशतले आफ्ना जीवनसंगी वा प्रेमी–प्रेमिकालाई चकलेट दिने योजना बनाएका छन्। सर्वेक्षणअनुदसार मानिसहरू अरूका लागि भन्दा आफूलाई चकलेट किन्न बढी खर्च गर्न चाहन्छन् ।