टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल, जापानको सञ्चालक समितिका उपाध्यक्ष इ. मेघराज नेपालको दुखद निधनको तेह्रौं दिनको पूण्यतिथिका अवसरमा स्कुलले भोलि फेब्रुअरी १० तारिख सोमबार शोकसभा गर्ने भएको छ ।
स्व. नेपालको अकल्पनीय निधनप्रति विद्यालयले एक प्रेस नोटमार्फत गहिरो दुख व्यक्त गरेको छ भने तेह्रौं पूण्य तिथिका अवसरमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न विद्यालयले शोकसभाको आयोजना गरेको जनाएको छ ।
उक्त शोकसभा ओगिकुबोस्थित विद्यालयको सभाहलमा अपरान्ह १ बजेबाट हुने बताईएको छ । शोकसभामा विद्यालय व्यवस्थापन समितिका समस्त पदाधिकारी, प्रोमोटर, अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारी एवम् इच्छुक महानुभावहरुलाई उपस्थितिका लागि अपिल गरिएको छ ।
स्व. नेपालको गत जनवरी २८ तारिखका दिन ५५ वर्षको उमेरमा असामयिक निधन भएको थियो । शोकसभामा स्व. नेपालको योगदानको स्मरण एवम् चर्चा गरिनुका साथै शोकपुस्तिका राखिने छ । इ. नेपालको दुखद निधनबाट विद्यालय परिवार, नेपाली समाज र राष्ट्रका लागि अपुरणीय क्षति पुगेको विद्यालय प्रशासनले जनाएको छ । स्व. नेपालको दुखद निधनमा शोक मनाउन विद्यालयले भोलि सोमबार विद्यालयको झण्डा आधा झुकाउनुका साथै विद्यालय आधा दिन विदा गर्ने भएको छ ।***