टोकियो– पूर्वी चाइना सीमा अवस्थित द्वीपहरूमा जापान तथा चीनको दाबीमा विवाद देखिएपछि जापानले चीनस्थित आफ्ना दूतलाई परामर्शका लागि आइतबार बोलाएको छ ।
दूत उइचिरो निवा टोकियोमा विदेशमन्त्री कोइचिरो गेम्बासँग वार्ताका लागि आउनुभएको अधिकारीहरूले बताएका छन् ।
निवाले टोकियोमा आइपुग्नुभएपछि पत्रकारहरूलाई आफूले विदेशमन्त्री गेम्बालाई प्रतिवेदन दिनुपर्ने र उहाँसँग परामर्श गर्नुपर्ने बताउनुभयो ।
विदेशमन्त्री गेम्बाले चीनविरुद्ध विरोध प्रदर्शनका लागि दूत निवालाई फिर्ता नबोलाइएको र उहाँसँग परामर्श गरिने जानकारी दिनुभयो ।
जापान तथा चीनले पूर्वी चाइना सीमा अवस्थित दीपहरूमा आ-आफ्नो स्वामित्व रहेको दाबी गरेका छन् । जापानमा यी द्वीपको नाम सेनकाकु भनिन्छ भने चीनमा दियाओयु भनिन्छ । गत साता चीनका जहाज उक्त क्षेत्रमा गएपछि जापानले बेइजिङमा गुनासो दर्ता गराएको थियो ।
यस घटनापछि जापानी अधिकारीहरूले चिनियाँ दूतलाई पनि बोलाएका थिए ।
जापानले आफ्नो नागरिकको स्वामित्वमा रहेको यी द्वीपलाई खरीद गर्ने निर्णय गरेपछि चीनले विरोध जनाएको थियो । ***