६० हजार बिद्यार्थीहरुको लागि अंग्रेजीको परीक्षा
टोकियो – जापानको शिक्षा मन्त्रालयले आगामी अगस्त महिनाभित्रमा २१८ वटा बिद्यालयका माध्यामिक स्तरका ६० हजार बिद्यार्थीहरुको लागि अंग्रेजी भाषाको परीक्षा लिने भएको छ । बिद्यार्थीहरुको अंग्रेजी भाषाको स्तर तथा बोल्न र लेख्न सक्ने क्षमता जाँच गर्नको लागि सरकारी स्तरबाट नै यस्तो जाँच लिन लागिएको शिक्षा मन्त्रालय स्रोतले बताएको छ । शिक्षा मन्त्रालयले अर्को बर्षदेखि अंग्रेजी भाषा सम्बन्धि नियमावली लागु गर्न गईरहेको परिप्रेक्ष्यमा यस किसिमको परीक्षा संचालन गर्न लागेको हो ।
नयाँ नियमावली अनुसार बिद्यार्थीहरुले अंग्रेजी भाषाको कक्षामा अन्य भाषा प्रयोग गर्न पाउने छैनन् । त्यसको लागि उनीहरुको स्तर जाँच्नको लागि माध्यामिक स्तरका तेस्रो र चौथो बर्षका बिद्यार्थीहरुमा यो परीक्षा लिन लागिएको हो । लिखित परीक्षामा प्रशिक्षार्थीहरुले अंग्रेजीमा लेखिएका वाक्यांशहरुलाई बुझेर जवाफ दिनुपर्ने बताइएको छ । यसरी लिईएको परीक्षाको परिक्षाफल भने सम्बन्धित बिशेषज्ञहरुको अनुसन्धान पश्चात् अर्को मार्च महिनामा प्रकाशित गरिने बुझिएको छ । शिक्षा मन्त्रालयले निम्न माध्यामिक र माध्यामिक गरी १२४ वटा बिद्यालयका बिद्यार्थीहरुको अंग्रेजी भाषास्तरलाई आधार बनाएर अनुसन्धान गर्ने बताईएको छ ।
पछिल्लो समयमा जापानीहरुले पनि अंग्रेजी लगायतका बिदेशी भाषाहरुमा रुची राख्ने गरेको पाईएकोमा सरकारी स्तरबाट नै अंग्रेजी भाषाको बिकासको लागि कदम चाल्न खोजेको बुझ्न सकिन्छ । यस किसिमको कदमले जापानी भाषा नजान्ने बिदेशीहरुको लागि आगामी दिनमा जापानमा दैनिक गुजारा गर्न तथा काम ब्यवसायमा केहि सजिलो हुनसक्ने अनुमान गर्न सकिन्छ ।