दशौं हजारको ज्यान जान सक्ने
टोकियो – निकट भबिष्यमै टोकियोको आसपास केन्द्रबिन्दु बनाएर जाने अनुमान गरिएको महाभूकम्पको कारण ९ हजार ६ सय भन्दा बढी मानिसहरुको ज्यान जान सक्ने अनुमान एक अनुसन्धानबाट प्राप्त तथ्याङ्कको आधारमा गरिएको छ । यसैगरी झण्डै १ लाख ५० हजार मानिसहरु घाइते हुनसक्ने पनि सो अनुसन्धानले जनाएको छ ।
टोकियो महानगरपालिकाको भूकम्प सम्बन्धी अनुसन्धानकर्ताहरुको टोलीले यस किसिमको तथ्य हालै बाहिर ल्याएको हो । उक्त महाभूकम्पले राजधानी टोकियोको ठूलो भागमा क्षति पुर्याउने अनुमान पनि सो अनुसन्धान टोलीले गरेको छ । गत बर्षमात्रै महाभूकम्प तथा सुनामीबाट ठूलो क्षति ब्यहोरेको जापानको उत्तरपूर्बी भागको पुनर्निर्माण कार्य अघि बढिरहेको बेलामा यस्तो डरलाग्दो अनुमान गरिएको हो । गत बर्षको मार्च महिनामा जापानको उत्तरपूर्बी क्षेत्रलाई केन्द्र बनाएर ९ रेक्टर स्केलको भूकम्प गएको थियो जसको कारण करिब २० हजार मानिसहरुले ज्यान गुमाएका थिए । गत बर्षको महाभूकम्पबाट राजधानी टोकियोमा खासै क्षति भएको थिएन । तर निकट भबिष्यमा आउन सक्ने भूकम्प ७.३ म्याग्निच्युडको मात्र भए पनि ९ हजार ६ सय जनाको ज्यान जान सक्ने, १ लाख ४७ हजार जना घाइते हुन सक्ने जसमध्ये २१ हजार ९०० जना गम्भीर घाइते हुन सक्ने सो अध्ययनबाट अनुमान गरिएको हो ।
यसैगरी सो भूकम्पका कारण ३ लाख ७८ हजार वटा भवनहरु भत्कने अनुमान गरिनुका साथै अचानक बिजुली आपुर्ति बन्द भई रेल सेवा तथा अन्य यातायात सेवामा आउने अवरोधका कारण ५२ लाख मानिसहरु आफ्नो घर फ़र्कन नसकी बिचल्लीमा पर्ने अनुमान गरिएको छ । साथै, सो भूकम्पका कारण टोकियोदेखि सयौं किलोमिटरको दूरीमा रहेका एशिया प्रशान्त क्षेत्रका भू-भागहरुमा सुनामीको असर पर्ने बताईएको छ ।
टोकियो बिश्वबिद्यालयको भूकम्प अनुसन्धान केन्द्रले जनाएअनुसार टोकियो सहर पृथ्बीको बिभिन्न ४ वटा प्लेटहरुको केन्द्रबिन्दुमा पर्ने भएकोले ती प्लेटहरु सर्दा ७ म्याग्निच्यूड भन्दा बढीको भूकम्प जान सक्ने सम्भाबना ५० प्रतिशत भन्दा बढि रहेको छ । यी अनुसन्धानहरुले सो भूकम्पबाट टोकियो बाहिर हुन सक्ने क्षतिको बारेमा भने खासै उल्लेख गरेको पाईदैन ।
आगामी ४ बर्षभित्रमा जान सक्ने भनिएको सो भूकम्पबाट बाँच्नको लागि बिभिन्न स्तरबाट सतर्कताका लागि सूचना तथा तालिमहरु दिन थालिएकोले यस्ता सूचनाप्रति ध्यान दिन पनि जापान सरकारले आह्वान गरेको छ ।
स्मरण रहोस, सन् १९२३ मा पनि टोकियो र त्यस आसपासका क्षेत्रहरु केन्द्र बिन्दु बनाएर ७.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । जसमा १ लाख ४० हजार भन्दा बढी मानिसहरुको ज्यान गएको थियो भने टोकियोका अधिकांश संरचनाहरु ध्वस्त भएको थियो ।***