टोकियो – अन्नपूर्ण तथा माछापुच्छ्रे हिमालको हिमताल फुट्न गई गत बैशाख २३ गते शनिबार सेती नदिमा आएको बाढीका कारण सार्दीखोला गाबिस र माछापुछ्रे गाविसमा ठूलो धनजनको क्षति भई विचल्लीमा परेका ब्यक्तिहरु, घाईतेहरु तथा मृतकका परिवारहरुको राहतस्वरुप एक्स-बगर युथ क्लव पोखराले आर्थिक संकलन कार्य शुरु गरेको जानकारी गराउँदै यस दैवीप्रकोपजन्य बिपत्तिमा मानवीय सहयोगका लागि स्वेच्छिक आर्थिक सहयोग प्रदान गर्न जापानमा रहेका नेपालीहरुलाई हार्दिक अपिल गरेको छ ।
उक्त क्लवका सँस्थापक श्रीभक्त गुरुङले एक वक्तब्य जारी गर्दै बाढीबाट प्रभावित परिवारजनलाई थोरै भएपनि सहयोग पुर्याउने उद्देश्यकासाथ आर्थिक सहयोग संकलन कार्य शुरु गरिएको जानकारी गराउनु भएको हो । ‘सहयोग नै धर्म हो भन्ने भावनाकासाथ सहयोग गरिदिनु हुन जापानमा रहनुभएका आदरणीय नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौं’ -वक्तब्यमा भनिएको छ । संकलित रकम अन्नपूर्ण रेडियो पोखराले शुरु गरेको राहत संकलन अभियानमा हस्तान्तरण गरिने बताईएको छ ।
यस अघि डिबिए मानवीय सहयोग समिति र एनआरएन जापानले पनि बाढी पीडितका लागि राहतस्वरुप आर्थिक सहयोग संकलन अभियान शुरु गरिसकेका छन । अप्रत्यासितरुपमा घट्न गएको दैवीप्रकोपजन्य घटनाबाट शोकाकुल बन्न पुगेका पोखरेलीहरुको घाउमा मलम लगाउने उद्देश्यले मानवीय सहयोग जुटाउन जापानबाट बिभिन्न ढंगले भईरहेको पहलमा यहाँका नेपालीहरुले ऐक्यबद्धता जनाउँदै सक्दो सहयोग गरिरहेका छन् ।
गत बर्ष जापानमा आएको महाभूकम्प र सुनामीका बेला स्वतस्फूर्त ढंगले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गरेर बिश्वसामु उदाहरणीय कार्यको गतिलो नमुना पेश गरेका जापानका नेपालीहरुबाट आफ्नै भूमिमा एक्कासी खनिएको बिपत्तिमा पनि सक्दो सहयोग राशी संकलन हुने अपेक्षा गरिएको छ । ***