टोकियो – जापान स्थित नेपाली मजदुरहरूको साझा संगठन मजदुर संगठन जापानले १२३ औं मजदुर दिवस (मे १) को उपलक्षमा जापान लगायत संसारभरिका सम्पूर्ण श्रमिक मजदुर बर्गमा शुभकामना ब्यक्त गरेको छ । सो संगठनका कार्यबाहक अध्यक्ष रेशम सापकोटाले एक प्रेस बक्तब्य मार्फत शुभकामना ब्यक्त गरेका हुन । प्रेस बक्तब्यको पूर्ण पाठ यस प्रकार छ ।
संसारभर छरिएर रहेका श्रमिक मजदुरहरूको एकमात्र साझा दिवस मजदुर दिवस (मे १) को सु-अवसरमा संपूर्ण मजदुर बर्गमा मेरो ब्यक्तिगत तथा जापान स्थित नेपाली मजदुरहरूको साझा संगठन मजदुर संगठन जापानको तर्फबाट सु-स्वास्थ्य, समुन्नति तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
अमेरिकाको शिकागो सहरमा भएको ऐतिहासिक र जुझारु मजदुर विद्रोहको स्मरणमा सन् १८९० देखि विश्वभरिका मजदुरहरुले मे दिवसलाई विशेष हर्ष र उल्लासपूर्वक मनाउँदै आएका छन् । उक्त क्रम यस बर्ष १२३ औं मजदुर दिवसको रुपमा हाम्रो सामु आइपुगेको छ । १ शताब्दी भन्दा बढीको यस अवधिको बिभिन्न कालखण्डमा मजदुरहरुकै अग्रसरतामा बिभिन्न देशहरुमा आमुल परिवर्तन भएका छन् । ती सबै खालका परिवर्तनहरुमा मजदुरहरूले खेलेको अहम भूमिकाले संसारको परिवर्तनको एकमात्र बाहक भनेको श्रमिक मजदुरहरू नै हुन भन्ने प्रमाणित गरिसकेको छ ।
हाम्रो देश नेपालको सन्दर्भमा हेर्ने हो भने पनि राणा शासन बिरुद्धको आन्दोलनदेखि लिएर निरंकुश राजतन्त्र बिरुद्धको बिभिन्न आन्दोलनहरू, १० बर्षे जनयुद्ध तथा १९ दिने जनान्दोलनहरुमा मजदुरहरूले खेलेको भूमिका ऐतिहासिक रहेको छ । जसको फलस्वरुप देशमा गणतन्त्रको स्थापना भएको छ । तर अझै पनि मजदुर बर्गलाई पूर्ण हकहित र अधिकार दिने कुरामा पुराना मानसिकता बोकेका केही तत्वहरू आनाकानी गर्दैछन र मजदुरलाई अझै पनि दास कै रुपमा हेर्न चाहन्छन । देशमा बन्न लागेको संबिधानमा पनि श्रमिक मजदुरहरूको हकहितका बुंदाहरू नछुटोस भन्ने हाम्रो चाहना र बिश्वास रहेको छ । यदि देशमा गणतन्त्र आइसक्दा पनि श्रमिक मजदुरहरूको हित बिपरित संबिधान बनाउने तथा शासन प्रणालीको स्थापना गर्ने कार्य हुन्छ भने हामी मजदुरहरू एक भएर त्यसको बिरुद्धमा आवाज उठाउन तयार रहनुपर्छ भन्ने अपिलका साथ यस १२३ औं मजदुर दिवसले सबै श्रमिक मजदुरहरूलाई एकजुट भई आफ्नो हक र अधिकारको लागि अगाडि बढ्न थप उर्जा प्रदान गरोस भन्ने शुभकामना ब्यक्त गर्दछु । साथै संसारभर मनाउन लागिएको मजदुर दिवसको भब्य सफलताको लागि पनि शुभकामना ब्यक्त गर्दछु ।
मे १, २०१२