टोकियो – जापानको नेपाली बजारमा रेमिट्यान्स कम्पनीहरु थपिनेक्रम चलिरहेकै बेला जेनिथ रेमिट्ले पनि एक औपचारिक समारोहको आयोजना गरी कारोवार शुरु गरेको सार्बजनिक रुपमा घोषणा गरेको छ ।
जापानको नेपाली बजारमा देखिएको तिब्र प्रतिस्पर्धामा आफुलाई उभ्याउँदै जेनिथले ग्राहकहरुको सर्बोत्तम हितलाई ध्यानमा राखी गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
“हामी गुणस्तरिय सेवामा बिश्वास गर्छौ, उच्च गुणस्तरिय सेवा प्रदान गरेर ग्राहकलाई सन्तुष्टी तुल्याउनु नै हाम्रो सफलता हो’ जेनिथ रेमिट्का अध्यक्ष मेघ केसीले भने – हामीले ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी १ लाख सम्मको हकमा ५ सय येन र सो भन्दा माथिका लागि ८ सय येन शुल्क निर्धारण गरी कारोवार शुरु गरिसकेका छौं । प्रारम्भिक चरणमै अत्यन्त उत्साहबर्द्धक ग्राहकहरुको माया र समर्थन पाईरहेका छौं, जसले गर्दा हामीलाई थप उत्साहको सञ्चार गरेको छ ।’
नेपालमा सफल ट्राभल ब्यवसायीकारुपमा स्थापित केसी जेनिथ रेमिट्का अध्यक्ष रहेका छन् भने एक दशकभन्दा लामो बित्तिय क्षेत्रमा अनुभव सँगालेका रितेश मित्तल यसका प्रवन्ध निर्देशक रहेका छन् । नेपालमा आफ्नै जेनिथ फाइनान्स रहेको जेनिथ रेमिट् टिममा उक्त फाईनान्सका सिनियर म्यानेजर चन्द्रबहादुर खत्री यसका बिशेष सल्लाहकारमा रहेका छन् भने जापान डाईरेक्टरकारुपमा सफल रेष्टुरेन्ट ब्यवसायीकारुपमा चिरपरिचित दिलु खत्री र सन्त खत्री रहेका छन् ।
आइतवार साँझ टोकियोस्थित राजा रेष्टुरेन्टमा भएको घोषणा समारोहमा बोल्दै जेनिथका प्रवन्ध निर्देशक रितेशले भने- “जापानको प्रतिष्ठित कम्पनी स्पिड मनि ट्रान्सफरसंग जेनिथले समझदारीपत्रमा हस्ताक्षर गरेको छ । जसअनुसार जेनिथले जापानमा मिहिनेतले कमाएको नेपालीहरुको पैसा छिटोछरितो र सुरक्षित ढंगले नेपालका आफन्तको हातमा पुरयाउन नेपालका ७५ वटै जिल्लाका ५५० वटा शाखा काउन्टरबाट रकम भुक्तानी दिने ब्यवस्था मिलाईएको छ । ग्राहकहरुले सर्बसुलभ तरिकाबाट नेपालमा पैसा पठाउन जेनिथले समय समयमा बिभिन्न आकर्षक कार्यक्रमहरु बजारमा ल्याउने छ, बिभिन्न कार्यक्रमहरुमार्फत हामी निरन्तर ग्राहकहरुको सम्पर्कमा रहने छौं’ उनले भने ।
यसैगरी सो समारोहमा बोल्दै जेनिथका बिशेष सल्लाहकार चन्द्रबहादुर खत्रीले जेनिथ फाईनान्स र जेनिथ रेमिट्को संयुक्त प्रोजेक्टकारुपमा राजधानी काठमाडौंमा “गल्कोट भिलेज” निर्माण गर्न १२५ रोपनी जग्गा खरिद गरिसकिएको र त्यसमा १५० भन्दा बढि घरका लागि प्लटहरु बुकिङ भईसकेको जानकारी गराए । उक्त प्रोजेक्टमा पनि जापानबासी नेपालीहरुले लगानी गर्न सकिने अवसर खुल्ला रहेको उनले थप जानकारी गराए ।
यसैगरी जेनिथका जापान डाईरेक्टर दिलु खत्रीले टोकियोको युराकुचोमा कार्यालय स्थापना गरी तिब्ररुपमा कारोवार भईरहेको जानकारी गराउँदैं जेनिथ रेमिट्लाई जापानब्यापीरुपमा प्रचारप्रसार गर्न २० भन्दा बढि शहरहरुमा प्रमोशनल इभेन्टको आयोजना गरिने बताए । जसअनुसार उल्लेख्य नेपालीहरु रहेको शहरमा प्रमोशनल इभेन्ट गर्न जेनिथ टिम छिट्टै साताब्यापी कार्यक्रम लिएर टोकियो बाहिर निस्कने उनले जानकारी दिए । यसैगरी अर्का जापान डाइरेक्टर सन्त खत्रीले बिगतमा आफुले भोग्नुपरेका समस्या र अनुभवबाट पाठ सिक्दै जापानमा दुखजिलो गरी कमाएको पसिनालाई अत्यन्त सुरक्षित र भरपर्दो तवरले उनीहरुको आफन्तको हातमा पुरयाउने उद्देश्यले जेनिथ रेमिट् जापानका नेपालीहरुमाझ उदाएको बताउँदै अगाडि भने- “यसलाई जापानबासी नेपालीहरुले आफ्नै सम्झी हामीलाई सुझाव, सल्लाह र प्रतिक्रियाका साथै सेवा गर्ने मौका दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।”
कार्यक्रममा सहभागीहरुले आ-आफ्ना परिचय दिनुका साथै जापानमा रेमिट कम्पनीहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा हुन नदिन सबै सचेत हुनुपर्नेमा जोड दिए । उनीहरुले नयाँ योजनाकासाथ आएको जेनिथले जापानमा बजार बिस्तार गर्न धेरै समय नलाग्ने प्रतिक्रिया दिदैं सफलताको शुभकामना दिए । सो अवसरमा जापानमा रेष्टुरेन्ट ब्यवसायी, रोजगाररत लगायतका बिभिन्न क्षेत्रका नेपालीहरुको उपस्थिति रहेको थियो ।
जेनिथसंगै अब कारोवार नै शुरु गरेका रेमिट कम्पनीहरुको संख्या जापानमा अब चार पुगेका छन् । आइएमई, जेएमई र सिटीले यस अघिनै जापानमा कारोवार शुरु गरिसकेका छन् ।
यसबाहेक बेष्ट, संसार, प्रभुलगायतका अरु रेमिटहरु पनि जापान आउने चर्चाले महत्व पाएका छन । यसैक्रममा बेष्ट रेमिट् भने ढिलोमा अबको १ महिनाभित्र जापानमा कारोबार नै शुरु गर्ने तैयारीमा रहेको यसका कार्यकारी प्रमुख अरुणकुमार श्रेष्ठले बताए । एनआरएनहरुको लगानीमा शुरु हुन लागेको भनिएको बेष्ट रेमिट्ले खाडि मुलुकहरु, युरोपियन मुलुकहरु र जापान, कोरिया लगायतका पूर्वी एशियन मुलुकहरुमा रहेका नेपालीहरुको कमाईलाई अत्यन्त सुरक्षित ढंगले नेपाल पुरयाउने श्री श्रेष्ठले बताए । रेमिट् लगायत नेपालका अन्य ब्यवसायहरुमा पनि एकैचोटी लगानी गरेर अगाडि बढिरहेको “बेष्ट होल्डिङ एण्ड इन्भेष्टमेन्ट” ग्रुपमा जापानबाट एनआरएन आईसीसीका सदस्यसमेत रहेका स्थापित ब्यवसायीद्वय अरुणकुमार श्रेष्ठ र रोविन्द श्रेष्ठका साथै एनआरएनका होक्काइडो अध्यक्षसमेत रहेका रेष्टुरेन्ट ब्यवसायी अर्जुन अधिकारी रहेका छन् भने बिभिन्न मुलुकमा रहेका एनआरएन अभियानमा सक्रियतापूर्वक लागेकाहरुको संलग्नता रहेको बताइएको छ ।
एक पछि अर्कोको सिको गर्दै ठूलो संख्याका नेपालीहरुले जापानमा रेष्टुरेन्ट ब्यवसायमा होमिएको एक दशक नाघिसकेको छ । अहिले करिव २० हजार नेपालीहरु जापानमा रहेको बिभिन्न तथ्यहरुबाट सिध्द भईसकेको छ । २० हजार नेपालीहरुको बीचबाट करिव २ हजार भन्दा बढि नेपाली वा भारतीय नामका रेष्टुरेन्टहरु नेपालीहरुद्वारा यहाँ सञ्चालित छन् । यसरी हर्दा हजार नेपाली बराबर एक रेष्टुरेन्ट ब्यवसायी उत्पादन गर्दै आएको जापानको नेपाली समुदाय अहिले नजानिदों तवरले रेमिट्यान्स ब्यवसायतर्फ आकर्षित भएको देखिन्छ । एउटै क्षेत्रमा मात्र यसरी एकपछि अर्को गर्दै ब्यवसाय थपिदैं जाँदा आपसी प्रतिस्पर्धाले ब्यवसाय नै संकटमा पर्न सक्ने चिन्तालाई पनि ध्यानमा राख्दै फरक फरक प्रकृतिका फरक फरक ब्यवसाय अवलम्बन गर्दा उपयुक्त हुने यहाँका भुक्तभोगीहरु सुझाउँछन् । ***