- खिलानाथ ढकाल
विराटनगर- फौजदारी मुद्दामा अदालतले पाँच वर्ष कैद सजाय फैसला गरेका जयराज संयोक लिम्बूलाई पक्राउ गर्न मोरङ प्रहरीले राजधानीका तीनै जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ।
प्रहरीले ‘फरार’ सूचीमा राखेका लिम्बू उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारको निकट सहयोगी रहेको खुलेपछि मोरङ प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रहरी कार्यालयका नाममा बिहीबार पत्र पठाएको हो।

बयरवन गाविसकै ७ नम्बर वडाका लिम्बूलाई गच्छदारले अघोषित ‘पिए’का रूपमा राखेर संरक्षण गरिरहेका छन्। ‘फरार अभियुक्त काठमाडौंमा रहेको खुल्न आएकाले पत्र पठाइएको हो,’ प्रहरी स्रोतले नागरिकसँग भन्यो, ‘अपराधी जोसँग बसेको भए पनि पक्राउ गरेर अदालतसमक्ष पेस गर्नु हाम्रो दायित्व हो।’
अदालतले सजाय सुनाएको एक वर्ष बित्दा २०६७ कात्तिक ९ गते बल्ल महानगरीय प्रहरी परिसर काठमाडौंले लिम्बू र अन्य अभियुक्त टंक पराजुली, राजु श्रेष्ठ र कम्पासे लिम्बूलाई पक्राउ गर्न महानगरीय प्रहरी वृत्त, महानगरीय प्रहरी प्रभाग, जिल्ला प्रहरी कार्यालय मोरङ मातहतका सबै युनिटलाई पत्र काटे पनि त्यो औपचारिकतामै सीमित बनेको थियो।
त्यतिबेला माधवकुमार नेपाल नेतृत्वको सरकारमा गच्छदार उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री थिए। सरकारका वरिष्ठ मन्त्रीको संरक्षणमा बसेका लिम्बूलाई प्रहरीले पक्रन सकेको थिएन। अहिले गच्छदार गृहमन्त्री भएपछि उनको मनोबल झनै बढेको छ।
‘हाम्रो कर्तव्य पूरा गरेका छौं, अहिलेसम्मको अनुसन्धानमा लिम्बू काठमाडौंमा छन्,’ एक प्रहरी अधिकृतले भने, ‘काठमाडौंबाटै ‘एक्सन’ हुनुपर्छ।’
तीन दिनअघि नागरिक संवाददाताले टेलिफोन गर्दा लिम्बूले गृहमन्त्रीसँगै रहेर काम गरिरहेको बताएका थिए। गच्छदार विराटनगर आउँदा पनि सँगै हुन्छन्। मधेसी मोर्चाले जेठ ७ गते विराटनगरमा ‘संघीयता ल्याओ, देश बचाओ’ नारा दिएर आमसभा गर्दा लिम्बू गच्छदारसँगै आएका थिए। उनी मोर्चा आयोजित सभामा मञ्चमै देखिएका थिए। त्यसयता धेरैपटक मोरङ-काठमाडौं ओहोरदोहोर गरिसकेका छन्।