मधेसी जनताले विगतमा गरेका आन्दोलनका उपलब्धी किन संस्थागत हुन सकेन भन्नेबारे आफ्नो स्पष्टोक्ति नगरेसम्म जनताले विश्वास गर्ने आधार देखिदैँन । संविधानसभाको आम्दानी, काठमाडौँको आनन्द, दूतावासहरूको भोजन र जनआन्दोलन सँगै कसरी सम्भव होला ? कि संविधानसभा त्यागेर मधेसमा जानुपर्यो कि मधेस त्यागेर पूर्ववत् रूपझैँ खसहरूको शरणमा जानुपर्यो । मधेसका जनतालाई ढाँट्न र जनता उचालेर शासकलाई घुर्काउने काम साथसाथ सम्भव नहोला ।
नेपाली राजनीतिमा मधेसका जनतालाई सधैँ मतदाताका रूपमा प्रयोग गर्दै सिंहदरबारमा प्रवेश पाउने प्रचलनलाई मधेसकेन्द्रित दलले पनि निर्वाह गरे । कांग्रेस–एमालेबाट ठगिएका मधेसीलाई भावनात्मकरूपमा सामुदायिक जन्जिरले बाँधेर केही मधेसकेन्द्रित दलले २०६४ मा अप्रत्यासित मत पाउन सफल भए । मधेसी समुदायले सामुदायिक पहिचानका आधारमा तिनलाई मत दिए पनि २०७१ सम्म आइपुग्दा दोहोरो मारमा परे ।
आफ्नै समुदायका नेताले जाति, द्रव्य र खसवादलाई शीर्ष स्थानमा राखेर पारिवारिक समृद्धिमा केन्द्रित भएको पाउँदा खिन्न भए मधेसी समुदाय । आकर्षक नारा र विभेदको सूची देखाएर मत बटुल्न सफल भएका मधेसी नेता आफ्नो शासन सत्तामा खस भन्दा पनि चर्को विभेदमा देखिएका । सरकारमा बसि–बसी गरिबी, महंगी, अशान्ति र बेरोजगारी बढाए । मधेसी युवालाई श्रम बेच्न विदेशिन बाध्य गराए भने मधेसलाई सैनिकीकरण गराए । सयौँ युवा राज्यद्वारा मारिए र हजारौँ बेरितमै थुनिए । तर, कसैले न्याय पाउन सकेनन् । नेपालको कार्यपालिका, न्यायपालिका, पत्रकारिता र अन्य सरोकारवाला क्षेत्रमा समावेशिताको सवालमा कुनै कार्य नगरेका मधेसी नेता केही क्षणका लागि मधेस पुगेका हुन्छन् । शीतलहर, बाढीपहिरो र आगलागीमा मधेस नपुग्ने, मधेसको शिक्षा–स्वास्थ्य–कृषि–सञ्चार र विकासमा कुनै सरोकार नराख्ने सत्ताधारी मधेसीको चंगुलमा सिंगो मधेस फसेको छ ।
हिजोसम्म राज्यद्वारा गरिने विभेदको मात्र शिकार हुँदै आएका मधेसी जनता आज राज्य, शासक दल, मधेसी दल र विदेशीको प्रयोगको साधन बन्न बाध्य छन् । चौतर्फी विभेद, दमन र बहिष्करणमा बाँचेका मधेसीलाई पुनः आन्दोलनमा ल्याएर सिंहदरबार प्रवेश गर्ने दाउमा लागिपरेका छन् मधेसी दल । ०६४ पछि मधेसका नाममा सभासद् भएका, राजनीतिक नियुक्ति पाएका मन्त्री भएकाले मधेसका लागि के–के गरे र मधेसको छवि खराब हुने गरी कार्य गरेकालाई कुन–कुन पार्टीले कस्तो किसिमको कारबाही गरे, तिनका फेहरिस्त सार्वजनिक नगरून्जेल मधेसका यिनै नेता र यिनै पात्रमाथि कसरी विश्वास गर्ने आम मधेसी जनताले ? मधेसकेन्द्रित दलका नेताहरूले एमाओवादीसँग मिलेर पुनः आन्दोलन गर्ने उद्घोष गरिसकेका छन् र नेता मधेसकेन्द्रित भइसकेका छन् ।
आन्दोलनको एजेन्डा, उद्देश्य र विगतमा गरेका वाचाबारे समीक्षा नै नगरी पुनः आन्दोलनको तयारी गर्नु असान्दर्भिक देखिन्छ । मधेसी जनताले विगतमा गरेका आन्दोलनका उपलब्धी किन संस्थागत हुन सकेन भन्नेबारे आफ्नो स्पष्टोक्ति नगरेसम्म जनताले विश्वास गर्ने आधार देखिदैँन । संविधानसभाको आम्दानी, काठमाडौँको आनन्द, दूतावासहरूको भोजन र जनआन्दोलन सँगै कसरी सम्भव होला ? कि संविधानसभा त्यागेर मधेसमा जानुपर्यो कि मधेस त्यागेर पूर्ववत् रूपझैँ खसहरूको शरणमा जानुप¥यो । मधेसका जनतालाई ढाँट्न र जनता उचालेर शासकलाई घुर्काउने काम साथसाथ सम्भव नहोला ।
मधेसको आधारभूत समस्यामा कुनै सरोकार नराखेका र मधेसको आडमा काठमाडौँमा रमाउँदै गरेका मधेसकेन्द्रित दलहरू पुनः स्वार्थपूर्तिका निम्ति मधेस झरेका छन् । चुनावको बेला र शासक दलसँग दमित भएका बेला मात्र मधेस र मधेसीलाई सम्झिने मधेसी दललाई कसरी पत्याउने वा उनका कुरामा लागेर किन आन्दोलित हुने ? हजारौँ सवाल मधेसी जनतामाझ छ । सत्तामा बसुन्जेलसम्म मधेसको ‘म’ पनि उच्चारण गर्न नभ्याउने तर, पदच्यूत हुनेबित्तिकै मधेसका पक्षमा चर्का नारा र भाषण गर्न थाल्छन् मधेसी नेता । मन्त्री हुँदा खसको सेवामा समय बिताउने, गैरमधेसी क्षेत्र र जनशक्तिको विकास गर्ने, जातिवाद र भ्रष्टाचारलाई अधिकारको रूपमा प्रयोग गर्ने र पारिवारिक जीवन समृद्ध बनाउने व्यक्तिलाई कसरी नेता मान्ने भन्ने प्रश्न मधेसी जनतासामु छ ।
५४ मधेसीको सहादतपश्चात प्राप्त शक्तिको प्रयोग मधेसका निम्ति नगरेका, मधेसी जनताको गास, बास र कपासका निम्ति चिन्ता र चासो नराखेका दल वा व्यक्तिलाई कसरी मधेसवादी भन्ने ? मोर्चा बनाएर विभिन्न सहमति गर्ने र सहमतिका आधारमा सरकारमा जाने तत्पश्चात् आफ्नै सहमतिलाई लत्याएर सत्तायात्रामै रमाउनेलाई कसरी मधेसका नेता मान्ने ? पार्टी अध्यक्षका निरंकुश व्यवहार, निर्णय वा अभिव्यक्तिलाई सबै मधेसीको चाहनाको रूपमा कसरी स्वीकार गर्ने ? आफ्नो धरातलीय यथार्थलाई बिर्सेर विगत छ वर्षदेखि काठमाडौँको बास बसिरहेका गैरआवासीय मधेसी नेतृत्व भेष बदलेर मधेसतिर लागेका छन् ।
मधेसी दलले मधेसका निम्ति के–के गरे, किन यिनका आह्वानमा आन्दोलन हुनुपर्छ र आन्दोलनपश्चात् प्राप्त शक्तिको प्रयोग यिनीहरू मधेसकै निम्ति गर्छन् कि गर्दैनन्लगायतका साझा सवालको विश्वस्त जवाफ नआउन्जेल मधेसमा आन्दोलनको सम्भावना हुन्न । मधेसका जनतालाई लठ्याएर, पट्याएर वा फकाएर सहिद बनाउने प्रयास राम्रो होइन । मधेसी दलबाट मन्त्री भएकाले मधेसीको गरिमा बढाउने, मधेसको साख बचाउने र मधेको विकास गर्ने कार्य के–के गरे वा किन गरेनन् ? चुनावका बेला र आन्दोलनको बेलामा मात्र मधेस पुग्नेले जे जस्तो आकर्षक भाषण दिए पनि मधेसका जनता पुनर्विचार नगरिकन यिनका लागि सहादत दिने मनस्थितिमा छैनन् ।
अधिकारका लागि आन्दोलन हुनुपर्छ तर, त्यो अधिकार जनताका लागि हो । जनतालाई सहादत दिलाएर, जनताको जनधनको क्षति गरेर सत्ता लक्षित आन्दोलन गर्नेहरूबाट आम मधेसी जोगिन जरूरी छ । आन्दोलनका लागि घरदैलो धाउने नेताहरूलाई किन, कसका लागि र कसरी आन्दोलन गर्ने लगायतका प्रश्न सोधिन जरूरी छ । मधेसको नाममा वा मधेसको आडमा राजनीति गर्नेलाई नंग्याउने र धपाउने दुवै काम गरिनुपर्छ । ०६४ सालमा गरिएका वाचा, निर्वाचनताकाका घोषणापत्र र अभिव्यक्ति, राज्यसँग गरिएका सम्झौता र बेलाबखतमा गरिएका प्रतिबद्धता किन लागू गरिएन, सोधिनुपर्छ ।
मधेस जनताले सहादत दिएर आफ्ना धन र धर्म लुटाएर आफ्नै उठिबास गराएर अवसरवादीलाई पुनर्बास गराउन जरूरी छैन । मधेसी नेतृत्वले आफ्नो अवस्था, व्यवस्था, प्रतिबद्धता, बाध्यता र कमजोरी इमान्दारीपूर्वक बताउनुपर्छ । अवसरवादी, खसभक्त, जातिवादी, भ्रष्टाचारी र मधेस विरोधी नेतालाई कारबाही नगरी एकमुष्ट रूपमा यिनै नेतृत्वलाई अगाडि सारेर मधेसमा आन्दोलन सम्भव छैन । मधेसी मोर्चाभित्र शुद्धिकरण, प्रतिबद्धता र समयसीमा हुन जरूरी छ ।
काठमाडौँबाट आएकै भरमा मधेसका जनता यिनका आदेश मानिहाल्नुपर्ने र यिनले इच्छाएका जति व्यक्ति सहादत दिएर यिनलाई पुनः सिंहदरबारमा बास दिलाउन जरूरी छैन । मधेसी दलमा लागेका युवा, मधेसवादी नेता र सरोकारवाला एकजुट भई शुद्धताका साथ आन्दोलनको तयारी गर्न जरूरी छ । आन्दोलनपश्चात् नयाँ शक्ति, नयाँ नेतृत्व र नयाँ तरिका स्थापित हुन सक्नुपर्छ । ठूला दलबाट काज सरूवा भई टुरमुकाममा खटेका मधेसी नेतृत्वको पहिचान गरिनुपर्छ । मधेसको विकास, मधेसी जनताको चाहना र मधेसको साख बढाउने पात्र र तिनका प्रवृत्तिको चयन गरी सहकार्य गर्न जरूरी छ ।
यसका निम्ति मधेसले आफ्नो राजनीतिक भविष्यको रूपमा हेर्दै आएका युवा एकजुट भई नयाँ शक्तिको निर्माण गर्न सक्नुपर्छ । मधेसका मुख्य समस्याबारे यिनीहरूको ध्यान कहिल्यै पुगेन । शीतलहर, बाढी, आगलागीलगायतका प्राकृतिक प्रकोपमा मधेसका जनता ज्यानै गुमाउँदा पनि मधेसी नेतृत्व ज्यान जोगाउन अघि सरेनन् । मधेसमा विद्यमान रहेको कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, यातायत, बाटोघाटो, सञ्चारलगायतका भौतिक पूर्वाधारको बारेमा सोच्ने वा चिन्तन गर्ने तर्फ कहिल्यै केन्द्रित भएनन् मधेसी दल ।
मधेसलाई शासक वर्गझैँ मधेसी दलले पनि मधेसका मतदातालाई भोट बैंकको रूपमा मात्र प्रयोग गरे । २०६४ को संविधानसभामा चौथो ठूलो शक्ति बन्न सफल भएका मधेसी नेतृत्वले मधेसको पक्षमा उदाहरणीय कार्य गरेनन् । संख्यात्मक रूपमा इतिहासमै सबभन्दा बढी मधेसी मूलका मन्त्री हुँदा पनि मधेसका समस्या समाधान गरिएन । त्यसको सट्टा झन् मधेसी जनतालाई दुःख र पीडा खेप्नुपर्यो । कृषि, सञ्चार, भौतिक योजना, श्रम, पर्यटन, परराष्ट्र, स्वास्थ्यलगायतका मन्त्रालय सम्हाल्दा पनि मधेसका निम्ति कुनै उल्लेख्य विकास गरिएन । मधेसी जनता र मधेसवादलाई थप बदनाम गराइयो ।
विगतमा सत्ता र भत्ताका लागि जोसँग पनि जस्तोसुकै सम्झौता र सहमति गर्न पछि नपर्ने मधेसी दल आज आफ्नै सहमतिका कारण नैतिक रूपमा परास्त भइसकेका छन् ।
सरकारमा प्रवेश पाउन पार्टी फुटाउने र खसको पाउपुजा गर्ने मधेसी नेतृत्व आज मधेसमा शिर उचालेर हिँड्न सकिरहेका छैनन् । सरकार बन्ने बेलामा पार्टी फोड्ने, मोर्चाबन्दी गर्नेलगायतका कार्यका कारण मधेसी जनता निरास छन् । आम जनताको अपेक्षासँग खेलवाड गर्दै आएका मधेसी नेताले आफ्नै क्रियाकलापबाट अविश्वासको वातावरण बनाएका छन् ।
(अहिराज मधेसवाणी साप्ताहिकका सम्पादक हुन् ।)