अहिले देशको मौसम निकै चिसो छ, तर राजनीति तातिरहेको छ । तातो राजनीतिको बहसले केन्द्र तताइरहेको छ भने महोत्सवहरुले मोफसल तताइरहेका छन् । राजनीतिको तातोपनको चर्चा धेरै हुन्छ, तर महोत्सवहरुले नेपाली समाजमा पारिरहेको प्रभावको चर्चाले कमै महत्त्व पाउने गरेको छ ।
हरेक वर्ष हिउंदहरु महोत्सवका मौसम हुन् । क्षेत्रीय कृषि महोत्सव, जिल्ला पर्यटन मेला, नगर उद्योग प्रदर्शनी, गाउं साँस्कृतिक उत्सव हुंदै अहिले वडा र टोलमा पनि महोत्सव सञ्चालन गर्ने चलन चलेको छ । पूर्वमा मेची नगरदेखि पश्चिममा कञ्चनपुरसम्म, उत्तरमा सोलुखुम्बुदेखि दक्षिणमा सर्लाहीसम्म सारा नगर-गाउंहरु यो बेला महोत्सवमय हुन्छन् ।
प्रायः महोत्सवहरु साँस्कृतिक, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रवर्द्धनका नाममा हुन्छन्, तर नामअनुसारको काम भैरहेको छ वा यस्ता महोत्सव दाम कमाउने माध्यममात्र बनेका छन् भन्ने कुरा विश्लेषण गर्नु आवश्यक छ । राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा रमाउनु, एक-दुईवटा विद्युतीय खेल खेल्नु, दुई-चार डल्ला मःम खानु अनि अलिकति आइसक्रिम चाट्नु नै यस्ता महोत्सवहरुको मुख्य आकर्षण देखिन्छ ।
साँस्कृतिक, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रवर्द्धनको नारा अनुसार दर्शकलाई प्रभावित पार्ने काममा आयोजकहरु चुकेझैं लाग्छ । किनभने साँस्कृतिक महोत्सवको अर्थ गीत-संगीत र हास्यव्यंग्यमात्र होइन, उक्त ठाउंको संस्कृति एवं परम्पराको प्रवर्द्धन पनि हो भन्नेतिर उतिसारो ध्यान दिइएको पाइंदैन ।
औद्योगिक महोत्सवको अर्थ बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको प्रदर्शनीमात्र होइन, गाउंघरका खुकुरी, राडी र अचार पनि महोत्सवको प्रमुख चर्चाको विषय हुनुपर्ने हो, तर न महोत्सवस्थलमा प्रवेश गर्ने दर्शकहरु त्यतातिर नजर लगाउ“छन्, न त सञ्चारमाध्यमले त्यसको समाचार सम्प्रेषण प्राथमिकताका साथ गर्छन ।
महोत्सवहरुलाई पर्यटन महोत्सवको नाराले सजाए पनि ती महोत्सवले स्थानीय पर्यटनको विकासमा कति सहयोग गरेका छन् भन्ने प्रश्नमा पनि आयोजक, प्रायोजक एवं सहभागीहरुले त्यति ध्यान पुर्याएको पाइंदैन । कलाकारलाई बोलायो, कार्यक्रम प्रस्तुत गर्यो । खाम दियो, लियो । खेल तमाम, पैसा खलांस त्यसैले, यस्ता महोत्सवहरुलाई अझै प्रभावकारी बनाउन, सा“च्चिकै औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव बनाउन केही गजुरियल प्रस्ताव गरिएको छ ।
महोत्सवको आम्दानीले वर्षमा कुनै एउटा स्थानीय साँस्कृतिक डकुमेन्ट्री निर्माण गर्ने । त्यही ठाउंको कुनै संस्थालाई आर्थिक सहयोग गर्ने । केन्द्रीय कलाकार तथा स्थानीय सँस्कृतिकर्मीबीच भेटघाट एवं छलफल कार्यक्रम राख्ने । केन्द्रीय कलाकारले स्थानीय सर्जकहरुसंग जोडिने तथा स्थानीयहरुले केन्द्रीयसंग सम्बन्ध बढाउने । उपरोक्त कार्यक्रमहरु महोत्सवको मुख्य कार्यक्रम तालिकाभित्रै पर्न सके भने मात्र यस्ता महोत्सव सा“च्चिकै साँस्कृतिक महोत्सव हुनेछन् ।
त्यसैगरी महोत्सवको नारामा जोडिएर आउने औद्योगिकलाई पनि जनस्तरसंग जोड्न आयोजकहरुले केही रियल काम गर्नु आवश्यक छ । सामाजिक संस्थालाई मात्र होइन, स्थानीय घरेलु उद्योगहरु लागि पनि निःशुल्क स्टलको व्यवस्था गर्नुपर्छ । दर्शकहरुले पनि रंगीचंगी बहुराष्ट्रिय कम्पनीका राम्रा स्टलमा मात्र होइन, गाउंघरका स्थानीय उत्पादनका स्टलमा जाने, अवलोकन गर्ने उत्पादकलाई हौसला प्रदान गर्ने हो भने मात्र ती महोत्सवहरु औद्योगिक प्रवर्द्धन महोत्सव कहलिन लायक हुनेछन् ।
नत्र, कुरा गर्यो कुरैको दुःख । अर्को मुख्य कुरा, पर्यटन महोत्सवको नाममा कुन-कुन पर्यटनस्थलको प्रचार र प्रवर्द्धन भयो भन्ने कुरा आउंछ । महोत्सव स्थलमा दर्शक उपस्थितिले मात्र स्थानीय पर्यटनको विकासमा सहयोग पुर्याउंछ भन्ने छैन । उनीहरुले त्यहांका देवी, देउराली, बगैंचा, चोक, चौतारी, ताल, तलैयासम्म पनि पुर्याउने कार्यक्रम आयोजकको प्राथमिकतामा पर्नुपर्छ । केन्द्रीय कलाकारहरुलाई त्यस्ता स्थलहरु घुम्ने र घुमाउने कुरा कार्यक्रमको सेड्युलमै पर्नुपर्छ, किनभने कलाकारहरुका गीत, कविता र प्रहसनहरुमा ती स्थानीय पर्यटकीय स्थलले स्थान पाए भने लाखौंको विज्ञापनभन्दा बढी प्रचार-प्रसार हुन्छ भन्ने गजुरियल विश्लेषण छ ।***